२५ श्रावण २०८३, सोमबार
Follow Us

नेपाली जनसम्पर्क समिति बेल्जियमको बुझबुझार्थ कार्यक्रम सम्पन्न

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८३, सोमबार १२:००

एनआरएनए आइसीसी सल्लाहकार गंगाधर गौतम र सुभाष जोशी सम्मानित

बेल्जियम — नेपाली जन सम्पर्क समिति बेल्जियमको बुझबुझार्थ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाली कांग्रेसका सोलुखुम्बु जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नांमग्याल जंग्वु शेर्पा नाम्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै निर्वाचन समिति संयोजक इन्द्रबहादुर क्षेत्री (पकवान) को पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको बैठक समितिका निवर्तमान सभापति सुबाष गुरुङको अध्यक्षतामा बसेको थियो भने दोस्रो चरणको बैठक २० जुलाई २०२६ मा सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका सभापति देबु शर्मा पौडेलको अध्यक्षतामा बेल्जियमको लुभेन शहरमा सम्पन्न भयो।

पहिलो चरणको कार्यक्रममा निवर्तमान महामन्त्री प्रकाशराज गिरिले सञ्चालन गर्नुभएको थियो। संस्थापक सभापति धुर्ब पौडेल तथा पूर्व अध्यक्ष सीता सापकोटा बेल्जियम बाहिर रहनु भएकाले उपस्थित हुन नसकेको जानकारी गराइएको थियो। स्वागत मन्तव्य महामन्त्री गोबिन्द सिंह अधिकारीले राख्नुभएको थियो भने नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

संरक्षक रामप्रसाद ढुंगानाले विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभयो। निर्वाचन समिति संयोजक तथा संस्थाका पूर्व अध्यक्ष इन्द्रबहादुर क्षेत्री (पकवान) ले नव निर्वाचित कार्यसमिति, संरक्षक, सल्लाहकार, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको नामावली घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभयो। साथै विधान अनुसार बाँकी पदहरूमा कार्यसमितिले आवश्यक परामर्शका आधारमा मनोनयन गर्ने अधिकार अधिवेशनले प्रदान गरेको जानकारी दिनुभयो।

यसै क्रममा निवर्तमान सभापति सुबाष गुरुङले नव निर्वाचित सभापति देबु शर्मा पौडेललाई संस्थाको अभिलेख तथा दस्तावेज हस्तान्तरण गर्नुभयो। कार्यक्रम समापन गर्दै गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कार्यसमिति, नेपाली कांग्रेस पार्टी, पूर्व कार्यसमिति, तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

दोस्रो चरणको कार्यक्रम नव निर्वाचित सभापति देबु शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन नव निर्वाचित महामन्त्री बुद्ध अधिकारी (दिपशन) ले गर्नुभएको थियो भने समसामयिक एजेन्डा प्रस्तुत र उपस्थिति व्यवस्थापन अर्का महामन्त्री अन्जु मल्ल ठकुरीले गर्नुभएको थियो।

बैठकमा उपस्थित पूर्व सभापतिहरू इन्द्र क्षेत्री (पकवान), गंगाधर गौतम, सुबाष जोशी र पूर्ण तिमिल्सिनाले आफ्नो कार्यकालका अनुभव साझा गर्दै नयाँ कार्यसमितिलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नांमग्याल जंग्वु शेर्पा नाम्गेलले संगठन विस्तारका विषयमा जोड दिँदै बैठकमा उठेका जिज्ञासाहरू सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

नव निर्वाचित सभापति देबु शर्मा पौडेलले अग्रजहरूको सल्लाह, सुझाव र मार्गदर्शनमा संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आवश्यकताअनुसार कार्यसमिति विस्तार गर्दै बाँकी पदहरूमा मनोनयन गर्ने निर्णय गरिएको छ। विधान अनुसार कार्यसमिति सदस्य दीपक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रमको अन्त्यमा अधिवेशन प्रक्रिया सफल बनाउन सहयोग गर्ने संस्थापक सदस्यहरू, निवर्तमान कार्यसमिति, निर्वाचन समिति, नेपाली कांग्रेस पार्टी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। समितिको आगामी कार्यकालका बैठक, एजेन्डा तथा कार्यक्रमको मिति र समय छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।

धेरै पढिएको