काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेता शाहीले यस्तो आपत्ति जनाएका हुन् । नेता शाहीले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको भन्दै प्रतिपक्षको भूमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने बताए। उनले आफूले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो र परिवारको चरित्र हत्या गर्न सत्तारुढ दलकै कार्यकर्ता लागेको आरोप पनि लगाउनु भयो ।
उनले उक्त अभिव्यक्ति संवैधानिक आयोग तथा मानव अधिकार आयोगको प्रतिवेदनको आधारमा व्यक्त गरेकोले त्यस्तो कुनै पनि अप्रमाणित कुरा नरहेको बताए। उनले आफू उमेरले सरकारमा रहेका नेताभन्दा कान्छो भएपनि राजनीतिमा उनीहरूभन्दा पुरानो रहेको दाबी गरे ।
उनले भने,‘अहिले प्रतिपक्षले प्रश्न गर्ने बित्तिकै दुई वटा जवाफ आउँछन्, एउटा–केपी ओलीको कार्यकर्ता, अर्को-सरकारलाई काम गर्न दिएन । म अपिल गर्न चाहन्छु पहिलो कुरा हामी केपी ओलीका कार्यकर्ता होइनौँ । अहिले सरकार सम्हालिरहेका भन्दा उमेरले सानो भएपनि म राजनीतिमा तपाईंहरुभन्दा पुरानो हो । हिजो झण्डै दुई तिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा यही संसदको रोष्टमा उभिएर सबैभन्दा धेरै प्रतिप्रश्न गर्ने सांसदहरुमध्ये एक हुँ ।
हिजो सडकमा हुँदा पनि कमरेड प्रचण्ड र केपी ओलीको नेकपा सरकारको आलोचना गरेकै कारण पटक पटक आक्रमणमा परेर मृत्युको मुखबाट फर्केर आएको व्यक्ति हुँ । हामी प्रश्न गर्नेबित्तिकै अरु पार्टीका हुँदैनौँ । प्रश्न गर्छौँ । जनताले हामीले प्रश्न गर भनेर पठाएका हुन् त्यसकारण हामीले प्रश्न गर्न पाउनुपर्छ ।’
उनले विगतमा समेत सरकारको आलोचना गरेकै कारण आफूमाथि पटक पटक आक्रमण भएको भन्दै सरकारलाई प्रश्न गर्न नछोड्ने बताए ।