२९ श्रावण २०८३, शुक्रबार
Follow Us

विश्व प्रेस काउन्सिलले भन्योः किशोर श्रेष्ठलाई तत्काल र निःसर्त रिहा गर

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८३, शुक्रबार ०४:४१

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले कडा आपत्ति जनाएको छ ।

संघले श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सरकारसँग माग गर्दै पत्रकारलाई व्यावसायिक कामका क्रममा हिरासतमा राखिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर विषय भएको जनाएको हो ।

डब्लुएपीसीले बिहीबार केन्याको नैरोबीबाट विज्ञप्ति जारी गर्दै श्रेष्ठको पक्राउ र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सम्पादक एवं प्रकाशक हुनुका साथै डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हु न्।

श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निजी निवासबाट गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

पक्राउ गरेको केही घण्टापछि बिहीबार बिहान प्रहरीले श्रेष्ठ सम्बद्ध सञ्चारमाध्यमको कार्यालयमा समेत खानतलासी गरेकामा डब्लुएपीसीले आपत्ति जनाएको छ । । आफ्ना पदाधिकारीसमेत रहेका स्वतन्त्र पत्रकार श्रेष्ठलाई हिरासतमा राखिएको घटनाले आफूहरू गम्भीर रूपमा चिन्तित भएको संघले उल्लेख गरेको छ ।

डब्लुएपीसीले पत्रकारितासँग सम्बन्धित गोपनीयता, तथ्यगत शुद्धता, व्यावसायिक आचारसंहिता वा अन्य विषयमा वैध उजुरी परे त्यसलाई गम्भीर रूपमा लिनुपर्ने जनाएको छ । तर यस्ता विषयको समाधान लोकतान्त्रिक समाजमा स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनका संयन्त्रमार्फत हुनुपर्ने उसको भनाइ छ ।

धेरै पढिएको