३१ श्रावण २०८३, आईतवार
Follow Us

१२ वर्षपछि अमेरिकामा जनसम्पर्कको नेतृत्व परिवर्तन, सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८३, आईतवार २१:२६

अमेरिका । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति अमेरिकामा १२ वर्षपछि नेतृत्व परिवर्तन भएको छ । पटक–पटकको शक्ति संघर्ष र कांग्रेसभित्रको आन्तरिक विवादका कारण १२ वर्षसम्म नेतृत्व परिवर्तनविहीन बनेको जनसम्पर्क समितिको तेस्रो अधिवेशनले मतदान प्रक्रियाबाट नेतृत्व छानेको हो ।

स्थानीय समयअनुसार अमेरिकाको भर्जिनिया राज्यमा आइतबार भएको तेस्रो अधिवेशनबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । नेम्वाङले आफ्ना निकटतम् प्रतिस्पर्धी सीपी पौड्याललाई १ सय २८ मतान्तरले पराजित गर्दै विजयी भएको प्रमुख निर्वाचन आयुक्त भक्त थापाले जानकारी दिए ।

नेम्वाङले २ सय ६६ र पौड्यालले १ सय ३८ मत प्राप्त गरेका थिए । नेम्वाङ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पौड्याल पूर्वसभापति शेरबहादुर देउवानिकट हुन् । सभापतिमा नेम्वाङ र पौड्यालसहित ६ जना प्रतिस्पर्धामा थिए । प्रमुख निर्वाचन आयुक्त थापाका अनुसार सभापतिको प्रतिस्पर्धामा नेम्वाङ र पौड्यालसहित सन्तोष पहारी, ध्रुव गौतम, वेदप्रसाद खरेल र अमृत सापकोटा थिए ।

जनसम्पर्क समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी ज्ञानेन्द्रराज कार्कीलाई पराजित गरे । निर्वाचित समितिले सार्वजनिक गरेको नतिजाअनुसार भट्टले १ सय ३२ र कार्कीले १ सय ४ मत प्राप्त गरेका थिए । वरिष्ठ उपसभापतिमा भट्ट र कार्कीसहित उत्तम धमला र चन्द्रकान्त धिताल प्रतिस्पर्धी थिए । उपसभापतिमा संजीव श्रेष्ठ, हरि शर्मा, श्रीराम थापा र निमा बोम्जन निर्वाचित भएका छन् । श्रेष्ठले २ सय ३५, शर्माले १ सय ७८, थापाले १ सय ८० र बोम्जनले १ सय ४५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा १० जनाले उम्मेदवारी दिई चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । युवा उपसभापतिमा सुशील खत्री, महिला उपसभापतिमा लक्ष्मी कार्की र युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी, जनसम्पर्क समितिको महामन्त्रीमा गौतम दाहाल र नारायण खनाल विजयी भएका छन् । दाहालले २ साताअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेस सभापति गगन थापा निकट दाहाल महामन्त्रीमा १ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का महामन्त्री खनालले २ सय ४ मत प्राप्त गरेका छन् । महामन्त्रीमा दाहाल र खनालसहित किलनचान राई, प्रतीक पाण्डे, अनन्तराज सुवेदी उम्मेदवार थिए । सहमहामन्त्रीमा अर्जुन बम, युवा सहमहामन्त्रीमा सुमन केसी, सिर्जना भट्ट र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सन् २००६ मा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अमेरिकामा तदर्थ समितिका रूपमा स्थापना गरेको जनसम्पर्कमा सन् २०१४ पछि अधिवेशन हुन सकेको थिएन । सन् २००७–२००८ मा पहिलो अधिवेशनबाट अमेरिकामा कांग्रेसले जनसम्पर्कलाई संस्थागत रूप दिएको थियो । त्यसपछि सन् २०१४ को सेप्टेम्बरमा टेक्सस राज्यमा दोस्रो अधिवेशन भएको थियो ।

२०१४ मा दोस्रो अधिवेशनबाट आनन्द विष्टको सभापति निर्वाचित भएका थिए । विष्टले गत फागुन १९ मा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएपछि सभापति पदबाट राजीनामा दिएका थिए । १२ वर्षसम्म नेतृत्वमा रहेका विष्टले राजीनामा दिएपछि अधिवेशनका लागि थप दबाब सिर्जना भएको थियो । केन्द्रीय समितिको निर्देशन तथा विधानबमोजिम लामो समयदेखि रोकिएको अधिवेशन कांग्रेस महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनमा आठ सय केन्द्रीय प्रतिनिधि चयन भएका थिए । जनसम्पर्क समिति अमेरिकामा ४ हजार सदस्य छन् ।

धेरै पढिएको