७ भाद्र २०८३, आईतवार
Follow Us

बेलायतमा नेपाली संस्कृति र पहिचानको उत्सव, १७ औं नेपाली मेला आइतबार

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८३, आईतवार १८:३३

१७ औं नेपाली मेलाको तयारी अन्तिम चरणमा, पुरस्कार राशि बढाइयो

लण्डन । तमुधिं यूकेले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली मेलाको १७ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। आगामी आइतबार लण्डनमा आयोजना हुने मेलाबारे तमुधिं यूकेको मिचेटस्थित भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि बेलायतस्थित नेपाली समुदायबाट सहयोग, सद्भाव र सहभागिता प्राप्त हुने विश्वास व्यक्त गर्दै मेला सफल बनाउन सबैलाई आग्रह गरे।

नेपाली मेला तयारी समितिका संयोजक कमल गुरुङले तमुधिं यूकेले विगतमा गर्दै आएका सामाजिक तथा सामुदायिक गतिविधिबारे चर्चा गर्दै संस्था बेलायतस्थित नेपाली समुदायको साझा संस्था भएको बताए। उनले नेपाली मेलाको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, परम्परा, भाषा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको उल्लेख गरे।

आयोजकका अनुसार मेलामा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यस वर्षको मेलामा झाँकी तथा नृत्य प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्। झाँकी र नृत्य प्रतियोगिताको विजेतालाई प्रदान गरिने एम्बासडर कपको पुरस्कार राशि बढाएर १ हजार ५ सय पाउण्ड पुर्‍याइएको छ। यसअघि विजेताले १ हजार १ सय पाउण्ड प्राप्त गर्दै आएका थिए। फस्ट रनरअपले ७ सय र सेकेन्ड रनरअपले ५ सय पाउण्ड प्राप्त गर्नेछन्। विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, एनआरएनए कपको पुरस्कार राशि पनि ३ सयबाट बढाएर ५ सय पाउण्ड पुर्‍याइएको छ।

मेलामा कुल २४ वटा संघसंस्थाले झाँकी प्रस्तुत गर्ने भएका छन्। त्यसमध्ये ९ वटा संस्थाले झाँकी तथा नृत्य दुवै विधामा प्रतिस्पर्धा गर्नेछन् भने १० वटा संस्थाले नृत्य विधामा मात्र प्रतिस्पर्धा गर्नेछन्। झाँकी तथा नृत्यमा सहभागी भए पनि प्रतियोगितामा प्रतिस्पर्धा नगर्ने ६ वटा संस्था रहने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा तमुधिं आमा समूहकी अध्यक्ष कमला गुरुङ, क्षेत्रीय अध्यक्षहरू, पूर्वअध्यक्षहरू मिनप्रसाद गुरुङ, ज्ञाम गुरुङ र सूर्य गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, ट्रस्टी, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष परसु गुरुङले दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। पत्रकार सम्मेलनको संयोजन मिडिया संयोजक एसके गुरुङले गरेका थिए।

धेरै पढिएको