१८+ उमेरको दर्शकको लागि मात्र
लन्डन । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतको अल्डरशटमा प्रदर्शन हुने भएको छ। चलचित्रको बेलायत प्रदर्शनबारे जानकारी दिन तमुधिं यूकेका संस्थापक अध्यक्ष तथा चलचित्र वितरकमध्येका एक मिन गुरुङले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी सेप्टेम्बर १२ गते अल्डरशटमा चलचित्र प्रदर्शन गरिने जानकारी दिएका हुन्।
लेखक तथा निर्देशक माउत्से गुरुङ रहेको चलचित्रमा चर्चित कलाकार दयाहाङ राईसहित पञ्चशुब्बा गुरुङ, सोल गुरुङ र मनिका गुरुङको अभिनय रहेको छ। चलचित्रको प्रोडक्सन म्यानेजरमा डीबी गुरुङ तथा नृत्य निर्देशकमा कमल गुरुङ रहेका छन्।
पत्रकार सम्मेलनमा गुरुङले बेलायतमा रहेका नेपाली दर्शकलाई नेपाली चलचित्र हेरेर मनोरञ्जन लिन आग्रह गरे। उनले चलचित्रलाई बेलायतमा रहेका नेपाली समुदायमाझ पुर्याउन प्रदर्शनको आयोजना गरिएको बताए।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ लगायतको उपस्थिति थियो।
‘पेन्सन पट्टा’को अल्डरशट प्रदर्शन सेप्टेम्बर १२ गते दिउँसो २:३० बजे हुनेछ। त्यसैगरी चलचित्र सेप्टेम्बर १९ मा प्लमस्टिड र सेप्टेम्बर २७ मा ननीटनमा पनि प्रदर्शन हुने जनाइएको छ।
चलचित्रको लाइसेन्ससम्बन्धी व्यवस्थाका कारण १८ वर्षभन्दा कम उमेरका दर्शकलाई भने चलचित्र हेर्न अनुमति नहुने आयोजकले जनाएको छ।
