ओन्टारियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रीय सम्मेलनको मूल नारा ‘समृद्धि’ हुने भएको छ।
क्षेत्रीय संयोजक भुवन खरालका अनुसार सम्मेलन सन् २०२७ को अप्रिल महिनामा क्यानाडाको ओन्टारियोस्थित र्याडिसन होटलमा आयोजना हुने भएको हो।
सम्मेलनमा नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीका सम्भावना, ज्ञान, सीप तथा प्रविधिको हस्तान्तरण, युवा तथा दोस्रो पुस्ताको भूमिका, उद्यमशीलताको प्रवर्द्धन, समुदाय सशक्तीकरण तथा नेपाल र विश्वभर रहेका नेपालीबीच सहकार्य विस्तारलगायतका विषयमा गहन छलफल हुने बताइएको छ।
एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक भुवन खरालका अनुसार सम्मेलनमा विश्वभर रहेका गैरआवासीय नेपालीबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने, नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीको भूमिकालाई प्रभावकारी बनाउने तथा संगठनात्मक एकतालाई थप मजबुत बनाउने विषयमा विशेष जोड दिइनेछ।
सम्मेलनमा एनआरएनएका केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मासहित पदाधिकारी, पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का विभिन्न पदाधिकारी, एनसीसी अध्यक्ष तथा महासचिव, विभिन्न देशका एनआरएनए अभियन्ता, नेपालका प्रतिष्ठित व्यवसायी, नेपाल सरकारका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
