रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि एनआरएनएले चरणबद्ध रूपमा सहयोग गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमार्फत तत्कालीन राहत तथा स्वास्थ्य सेवासँगै दीर्घकालीन रूपमा प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्ने संघको योजना रहेको छ।
यसैक्रममा, बिहीबारदेखि एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ।
एनआरएनए अध्यक्ष सहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिँदै सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी राहत तथा मानवीय सहयोगका कार्यक्रम अघि बढाइरहेको छ।
नुवाकोटमा रु. ५० लाख बराबरको राहत सामग्री
एनआरएनएले नुवाकोटमा भदौ ११ र १२ गते गरी करिब रु. ५० लाख बराबरको राहत सामग्री बाढी प्रभावित परिवारका लागि उपलब्ध गराएको छ। राहत सामग्रीमा ५ सय थान त्रिपाल, ५ सय थान सोलार लाइट, ५ सय परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी, औषधिलगायतका अत्यावश्यक सामग्री रहेका छन्।
राहत सामग्री सहित एनआरएनएका पदाधिकारीहरूको टोली काठमाडौंस्थित सचिवालयबाट नुवाकोट पुगेको थियो।
टोलीले जिल्ला विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा स्थानीय तहका प्रतिनिधिसँग समन्वय गरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो।
टोलीले नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय, विदुर–५ स्थित आश्रयस्थलमा रहेका प्रभावित नागरिक, विशेषगरी वृद्धवृद्धालाई प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गरेको थियो।
सरकारको एकद्वार राहत वितरण नीतिअनुसार प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत राहत सामग्री हस्तान्तरण गरिएको छ।
राहत सामग्री नुवाकोट पुर्याउन अबेर रातिसम्म समय लागेकाले त्यसपछिको बिहानदेखि थप राहत वितरण सुरू गरिएको थियो। नुवाकोटको पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित नागरिकलाई समेत राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिएको छ।
एनआरएनएको राहत टोलीले प्रभावित क्षेत्रमा रहेका एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यहरू बाढीबाट प्रभावित भए–नभएको जानकारीसमेत संकलन गरिरहेको छ। आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय भइरहेको संघले जनाएको छ।
भौगोलिक अवस्था तथा बाढीका कारण प्रत्यक्ष रूपमा पुग्न कठिन क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहसँग समन्वय गरी थप राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइनेछ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा चिकित्सकीय सहयोग
एनआरएनएको राहत टोलीसँगै नुवाकोट पुगेको स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। संघको पहलमा थप स्वास्थ्य शिविरसमेत सञ्चालन गरी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिनेछ।
थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिने एनआरएनएले जनाएको छ।
राहत तथा पुनःस्थापनाका लागि कम्तीमा रु. ५ करोडको प्रतिबद्धता
एनआरएनएले उद्धार, राहत, मानवीय सहायता, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि कम्तीमा रु. ५ करोड परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।
तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणमा समेत नेपाल सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्ने संघको योजना रहेको छ।
विभिन्न एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले आ–आफ्नो स्तरबाट सहयोग तथा रकम संकलन अभियान सुरु गरिसकेका छन्। एनआरएनएले विश्वभर रहेका नेपाली समुदायलाई पनि आफ्नो क्षमता र परिस्थितिअनुसार सहयोग गर्न आह्वान गरेको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो क्षमताअनुसार एनआरएनए आईसीसीको खातामा सहयोग रकम जम्मा गर्न तथा आफ्ना व्यक्तिगत, सामाजिक र संस्थागत सञ्जालमार्फत राहत अभियानलाई व्यापक बनाउन अपिल गरिएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गरिने
एनआरएनएले विभिन्न माध्यमबाट संकलित सहयोग रकमलाई राहत तथा मानवीय सहायताका लागि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गरिने संघले स्पष्ट पारेको छ।
एनआरएनएले आफ्ना पदाधिकारी, सदस्य तथा एनसीसीहरूबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै राहत दोहोरिन नदिने र वास्तविक आवश्यकता भएका प्रभावित नागरिकसम्म सहयोग पुर्याउने उद्देश्य राखेको जनाएको छ।
संघले यस कठिन परिस्थितिमा विश्वभर रहेका आफ्ना एनसीसी, नेपाली समुदाय तथा गैरआवासीय नेपालीहरूलाई बाढी–पहिरो प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।
