१२ भाद्र २०८३, शुक्रबार
Follow Us

एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा २५ लाख सहयोग

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०८३, शुक्रबार १८:०४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्‍याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सो रकम सहयोग गरेका हुन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै शर्माले प्राकृतिक विपत्तिको यस घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना समेत गरेका छन् ।

पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्ष समेत रहेका शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यो सहयोगको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशकै साथमा छौँ भन्ने हाम्रो आत्मीय भावना र दायित्वको सानो अभिव्यक्ति हो । देश बाहिर रहे पनि हाम्रो मन सधैँ मातृभूमिमै हुन्छ ।’
विज्ञप्तिमा शर्माले उद्धार र राहत कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा गैरसरकारी निकायहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । साथै, प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने गैरआवासीय नेपाली संघका अभियन्ताहरू र मानवीय सद्भाव देखाउने छिमेकी राष्ट्रहरूप्रति पनि उनले आभार प्रकट गरेका छन् ।
पूर्वअध्यक्ष शर्माले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो सामर्थ्यअनुसार बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन् ।
‘भूकम्प, महामारी र बाढी–पहिरो जस्ता राष्ट्रिय संकटका बेला हामी नेपालीहरू सधैँ एक भएर उभिएका छौँ,’ उनले भनेका छन्, ‘आज फेरि त्यही एकता र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको छ। हामी सबैले हातेमालो गरेमा पीडितहरूको घाउमा मलम लगाउन र उनीहरूलाई पुनः उठ्नका लागि ठूलो हौसला प्रदान गर्न सक्छौँ ।’

विनाशकारी बाढी प्रभावितप्रति सहयोगको अपिल
मिति : २०८३/०५/१२
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरी भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्‍याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिले अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ। प्रकृतिले निम्त्याएको यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा शोककुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारहरूलाई यो कठिन परिस्थितिको सामना गर्ने धैर्य र शक्ति भगवान् पशुपतिनाथले प्रदान गरून् भन्ने प्रार्थना गर्दछु।
देशबाट टाढा परदेशमा रहे पनि हाम्रो मन सधैँ मातृभूमिमै हुन्छ। यस्तो राष्ट्रिय संकटको घडीमा देश र जनताले भोगिरहेको पीडाले विश्वभर रहेका लाखौँ नेपालीहरूको मन छटपटाउनु स्वाभाविक हो। यो पीडा हामी सबैको साझा पीडा हो।
यस विषम परिस्थितिमा प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा व्यवस्थापनमा अहोरात्र खटिरहनुभएका नेपाल सरकार, सुरक्षा निकाय (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी), स्थानीय तह, सरकारी एवं गैरसरकारी निकायहरूप्रति उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
अझ यस विषम परिस्थितिमा प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा सहयोगमा अहोरात्र खटिरहनुभएका गैरआवासीय नेपाली संघका साथीहरू, प्रवासबाट राहत तथा सहयोग जुटाउन सक्रिय साथीहरूप्रति पनि म उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
साथै, छिमेकी र मित्रराष्ट्रहरूले देखाएको मानवीय सद्भाव र पुर्‍याएको सहयोगका लागि समेत हार्दिक आभार प्रकट गर्दछु।
विपद्को यस समयमा आफ्नो जिम्मेवारी महसुस गर्दै मेरो नेतृत्वमा रहेको ‘पिजन इन्जिनियरिङ ग्रुप’ को तर्फबाट सहयोगस्वरूप नेपाली रुपैयाँ २५ लाख (पच्चीस लाख) रुपैयाँ आज मिति २०८३/०५/१२ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। यो सहयोगको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा ‘हामी जहाँ भए पनि देशकै साथमा छौँ’ भन्ने हाम्रो आत्मीय भावना र दायित्वको सानो अभिव्यक्ति हो।
नेपालले भोगेका विगतका कठिन घडीहरूमा पनि गैरआवासीय तथा विदेशमा रहेका नेपालीहरूले मन खोलेर मातृभूमिको साथ दिँदै आएका छौँ। भूकम्प, महामारी, बाढी–पहिरो वा अन्य राष्ट्रिय संकटका बेला संसारभर छरिएर रहेका नेपालीहरू एक भएर मातृभूमिका पक्षमा उभिनु हाम्रो संस्कार, भावना र सामूहिक शक्तिको सुन्दर परिचय हो। आज फेरि त्यही एकता, सद्भाव र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको छ। यस्तो स्थितिमा म विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो सामर्थ्यअनुसार पीडित परिवारहरूको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न हार्दिक अपिल गर्दछु।

हामी सबैले हातेमालो गरेमा गुमेको अमूल्य जीवन फर्काउन नसके पनि पीडितहरूको घाउमा मलम लगाउन र उनीहरूलाई पुनः उठ्नका लागि ठूलो हौसला र आशा प्रदान गर्न सक्छौँ।

आरके शर्मा
पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ
अध्यक्ष, पिजन इन्जिनियरिङ ग्रुप

धेरै पढिएको