काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता सुदन किराँतीबीच चार महिना नपुग्दै खटपट सुरु भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेर श्रम संस्कृति पार्टीमा समाहित भएका किराँतीलाई एकतापछि पहिलो बैठकमै प्रवेश निषेध गरिएको छ ।
धरानमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष साम्पाङ पक्षले वरिष्ठ नेता किराँती पक्षलाई प्रवेश गर्न नदिएपछि खटपट सतहमा आएको हो । दुई नेताबीचको असन्तुष्टि र खटपटको कारण भने प्रस्ट भएको छैन । र, भोलिको केन्द्रीय कमिटी बैठकमा बोलाउने हुन् वा होइनन् भन्ने पनि प्रस्ट भएको छैन ।
आजको केन्द्रीय कमिटी बैठकमा भने किराँती पक्षलाई प्रवेश दिइएको छैन । र, एकतापछि पहिलोपटक यो बैठक बस्दै छ । त्यस अर्थमा पनि अहिलेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । पार्टीको जिम्मेवारी बाँडफाँटदेखि एकताको सन्देश दिने कुरामा पनि अहिलेको बैठक महत्त्वपूर्ण मानिएको थियो ।
कोशी प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेर हर्क साम्पाङले किराँतीलाई भित्र्याएका थिए । त्यसो त, पछिल्ला दिनमा कोशी प्रदेशमा दुई नेताको मिलनपछि किराँत समुदायमा उत्साह पनि थपिएको थियो । एकताको क्रममा प्रलोपाबाट किराँतीसँगै गएका नेताहरूमध्ये एक जनालाई उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसहित १८ जनालाई पार्टी एकतामा समेटिएको थियो ।
एकतामा थपिएको संख्यापछि श्रम संस्कृति पार्टीको ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । बैठकमा सहभागी हुन किराँती समूहका नेताहरू धरान पुगेका थिए ।
तर, साम्पाङपक्षीय नेताहरूले प्रवेश निषेध गरेपछि उनीहरू धरानमै छन् । धरानमा रहेका नेताहरू अनौपचारिक छलफलमा जुटेको पनि श्रम संस्कृति पार्टीनिकट स्रोतले उल्लेख गरेको छ । किराँतीसँग चार महिनामै खटपट सुरु भएपछि पार्टीभित्र कस्तो अवस्था आउँछ भन्ने पनि चासो बढेको छ ।