१६ भाद्र २०८३, मंगलवार
Follow Us

सातौं दिनमा सरकारले आयोजनाहरूलाई भन्यो- ‘सुरुङबाट उद्धार गर्न सकेनौँ, आफै गर’

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८३, मंगलवार ०९:१६

काठमाडौं । सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउने सम्भावना क्षीण हुँदै बाढी गएको सातौं दिन बल्ल सरकारले आयोजना प्रवर्द्धकलाई उद्धारको अनुमति दिएको छ । अनुमति पाएपछि आयोजना प्रवर्द्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन भएका छन ।

यसअघि सरकारले जलविद्युत् आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको भन्दै सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन । नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो । तर, नेपाली सेनाको टोलीले सात दिनसम्म सुरुङमा फसेकाहरुको उद्धार गर्न असफल भयो ।

सात दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित खोज तथा उद्धारमा खटिन अनुरोध गरेको छ । अनुमति पाएपछि विभिन्न जलविद्युत् आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनीहरूले आवश्यक प्राविधिक जनशक्ति र उपकरणको व्यवस्थापन थालेका छन् ।

लाङटाङ जलविद्युत् आयोजनाले पनि बाढी र पहिरोले पुरिएको आयोजनास्थलमा आफ्नै प्राविधिक टोली तथा आवश्यक उपकरण लिएर जाने तयारी थालेको जानकारी दिएको छ । सरकारले आयोजनाको प्राविधिक टोलीलाई उद्धार तथा खोजी कार्यमा संलग्न गराउने गरी बाटो खुला गरेको आयोजना प्रवर्द्ध क विजयमान भट्टराईले जानकारी दिएका छन ।

उनले भने, ‘नेपाली सेनाले सो आयोजनाको सुरुङमा १०० मिटरसम्म गएर हेर्‍यो, त्यसपछि हामी जान सक्दैनौं, तपाईंहरूको प्राविधिक मान्छे लगाएर काम अघि बढाउनुस् भनेर उहाँहरूले भन्नुभएको छ ।’ सरकारले नेपाली सेनामार्फत उद्धारको काम गरिरहेको अवस्थामा आयोजनाका प्राविधिक जनशक्तिलाई प्रत्यक्ष रूपमा परिचालन गर्न नदिइएको उनको भनाइ छ ।

तर, अहिले सरकारी संयन्त्र र आयोजनाको टोलीबीच समन्वय गरेर काम अघि बढाउने अवस्था बनेको पनि उनले बताए । उनले भने, ‘हाम्रो प्राविधिक टिम त चाहिने नै थियो, पहिला पनि चाहिने थियो । त्यो भइराखेको छ । अब हाम्रो तर्फबाट पनि समन्वय हुनुपर्छ, उहाँहरूको पनि त्यहाँ हेलिकप्टर जाँदैन, गाडीहरू जाँदैनन् ।

लिफ्टिङ लगायतका सामानको उपलब्धता उहाँहरूले गर्नुपर्छ । त्यसैले हाम्रो पनि समन्वयमा काम अघि बढाउने भन्नेमा छौं ।’ यसअघि अपनाइएको उद्धारको तरिकाबाट अपेक्षित परिणाम नआएपछि अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था आएको हो । ‘पहिलाको तरिकाले भएन ।

त्यसैले अब त्यसैमा लागिरहेका छौं,’ उनले भने । आयोजनाको टोली अहिले काठमाण्डूमा आवश्यक उपकरण तथा सामग्री जुटाउने काममा लागेको छ । आवश्यक प्राविधिक सामग्री र उपकरण खरिद तथा व्यवस्थापन गरेपछि टोली आयोजनास्थलतर्फ जाने तयारीमा रहेको उनले बताए ।

काठमाण्डूमा आएर अब के–के सामान लिएर जाने भनेर खरिद गर्दैछौं । अब हामी जान्छौं, सामानहरू लिएर सुरु गर्छौं,’ भट्टराईले भने । यस्तै, माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) ले पनि आवश्यक प्राविधिक जनशक्ति र उपकरण व्यवस्थापन थालेको छ ।

बाढीपछि आयोजनास्थलमा रहेका केही व्यक्ति सम्पर्कविहीन बनेपछि कम्पनीले सुरुदेखि नै आफ्ना प्राविधिक टोली परिचालन गर्न खोजेको थियो । तर, सरकारले एकद्वार प्रणालीबाट नेपाली सेनामार्फत उद्धारको काम भइरहेको भन्दै कम्पनीलाई प्रत्यक्ष रूपमा खोज तथा उद्धारमा जान दिएको थिएन । अब भने कम्पनीहरूलाई आफ्नै प्राविधिक क्षमता, उपकरण र जनशक्ति प्रयोग गरेर खोज तथा उद्धारमा सहभागी हुन बाटो खुलेको छ ।

बाढी आएको सातौं दिनसम्म पनि आयोजनास्थलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्था स्पष्ट हुन नसकेको अवस्थामा सरकारको पछिल्लो निर्णयले खोज तथा उद्धारलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

अझै पनि ८९४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहिन छन् । रसुवामा एनडब्लूईडीसीले निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा अझै पनि ५७३ जना सम्पर्कविहीन छन् ।

त्यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ९३ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहिन छन् । नेपाली सेनाले जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहभित्र खोजतलास गर्दा कोही पनि नभेटिएको जनाएको थियो ।

तर, त्यही बेला ड्युटीमा रहेका तीन जना कर्मचारी भने सम्पर्कबिहिन नै रहेको कम्पनीले जनाएको छ । त्यस्तै २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाबाट ४१ जना सम्पर्कविहिन छन् ।

त्यस्तै नुवाकोटमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाका ४२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् ।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रहेपनि आयोजनाको भूमिगत विद्यूत् गृहभित्रबाट उद्धार टोलीले २४ घण्टा काम गरे पनि उद्धार गर्न सफलता मिलेन ।

सोमबार सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भएको थियो । सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

धेरै पढिएको