बागलुङ । तीन सय वर्ष पुरानो मानिने भदौरे नाचलाई बागलुङका नेवार समुदायले निरन्तरता दिँदै आएका छन्। भक्तपुर र पाटनबाट बसाइँ सरेर बागलुङ आएका नेवार समुदायका शाक्य, श्रेष्ठ, राजभण्डारीलगायतले यो नाचलाई अहिले पनि निरन्तरता दिँदै आएका छन्।
भदौरे नाचअन्तर्गत होवा, कटुवाल, रोपाइँ, जोगी र घोडा नाच बजार क्षेत्रभित्र प्रस्तुत गरिने गरेको शाक्य कल्याण समाज बागलुङका सल्लाहकार विकासकुमार शाक्यले बताउनुभयो। उहाँका अनुसार भदौरे नाचलाई तीन सय वर्ष पुरानो नाचका रूपमा लिने गरिएको छ।
बाजाको तालमा नाचिने भदौरे नाचमार्फत युवायुवतीले आफ्नो कला प्रस्तुत गर्ने गर्छन्। पुरानो कला–संस्कृति बोकेको नाचको संरक्षण र प्रवर्द्धनका लागि युवा पुस्ता जुटिरहेको कलाकार मञ्जुल शाक्यले बताउनुभयो।
अहिले भदौरे नाच बजार क्षेत्रका चोक–चोकमा प्रस्तुत गर्ने गरिएको छ। कलाका रूपमा प्रदर्शन गरिने भदौरे नाचले पछिल्लो समय बजार क्षेत्र दैनिक गुञ्जायमान बनेको स्थानीयवासीको भनाइ छ।
मौलिक र रैथाने संस्कृतिका रूपमा रहेको यो नाच संरक्षण गर्न युवा पुस्ता सक्रिय हुँदै आएका छन्। यहाँका नेवार समुदायले भदौरे नाचलाई ऐतिहासिक संस्कृतिसँग जोडिएको भन्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै आएका छन्।