काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा गोरुको मासु काटेर बिक्री–वितरण गरिरहेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय टुकुचामा गोरुको मासु काटी बिक्री–वितरण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मासुसहित पक्रेको हो ।
स्थानीय यज्ञकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बर्दियाको राजापुर नगरपालिका–२ का ३० वर्षीय रमेश चौधरी, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ का २२ वर्षीय सोमराज तामाङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भई हाल बनेपा–१, टुकुचामा बस्दै आएका ६० वर्षीय ज्ञानबहादुर मोक्तान पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट करिब २५ किलोग्राम गोरुको मासु बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल लगिएको छ।