२४ भाद्र २०८३, बुधबार
Follow Us

शहीदको सालिकको स्वरूपमा आफन्तको आपत्ति, अनावरण नगरी फर्किए गृहमन्त्री गुरुङ

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार ११:३३

काठमाडौँ । सात दोबाटोमा निर्माण गरिएको जेन जेड शहीद पार्कमा राखिएका सालिकको स्वरूपप्रति शहीदका आफन्तले असहमति जनाएपछि निर्धारित अनावरण कार्यक्रम स्थगित भएको छ।

सालिकको अनुहार सम्बन्धित शहीदसँग मेल नखाएको भन्दै आफन्तहरूले तत्काल अनावरण नगर्न आग्रह गरेपछि कार्यक्रमका लागि पुगेका गृहमन्त्री सुधन गुरुङ अनावरण नगरी फर्किएका हुन्।

सालिक निर्माणमा अपेक्षित सावधानी नअपनाइएको भन्दै आफन्तहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पार्क निर्माण सम्पन्न भएको र अनावरण गर्न लागिएको जानकारीसमेत आफूहरूलाई अन्तिम समयमा मात्रै दिइएको उनीहरूको गुनासो छ। परिवारसँग पर्याप्त समन्वय नगरी कार्यक्रम अघि बढाउन खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

आफन्तहरूले शहीदको सम्झनामा दीर्घकालीन रूपमा रहने संरचना भएकाले निर्माणको गुणस्तर र सालिकको स्वरूपमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूको असहमतिकै कारण कार्यक्रमस्थलमा अनावरण प्रक्रिया अघि बढ्न सकेन।

कार्यक्रममा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि सालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुने धारणा राखे। उनका अनुसार पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अघि बढाइएको थियो।

खरेलले आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चार मन्त्रीको जिम्मेवारीमा रहेको र तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सक्रियतामा पार्क निर्माण प्रक्रिया अघि बढेको बताए। करिब अढाई महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्वाचनका कारण केही समय काम प्रभावित भएको उनको भनाइ छ।

पार्क निर्माणको अधिकांश काम सम्पन्न भए पनि फिनिसिङ तथा सालिक निर्माणतर्फ केही काम अझै बाँकी रहेको खरेलले बताए। निर्माणकर्ताले शहीदको अनुहारलगायतका विवरणमा आवश्यक सुधार गरी परिवारको सहमति लिएपछि मात्र अनावरण गर्नु उपयुक्त हुने उनको धारणा छ।

खरेलले जेन जेन शहीद पार्क निर्माणको काम अघि बढ्नु सकारात्मक भए पनि हतारमा उद्घाटन गर्नुभन्दा बाँकी काम गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने बताए। सालिकको स्वरूपप्रति परिवारका सदस्यले असहमति जनाएपछि अनावरण कार्यक्रम तत्कालका लागि रोकिएको हो।

धेरै पढिएको