भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान अन्तर्गतका गतिविधिहरु आज १४ औँ दिनमा पनि निरन्तर जारी रह्यो । विपद्पछि प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने, स्वास्थ्य तथा सरसफाइका समस्या सम्बोधन गर्ने, जोखिममा रहेका परिवारको अवस्था पहिचान गर्ने उद्देश्यले एनआरएनएले विभिन्न सरकारी निकाय, स्थानीय तह, रेडक्रस तथा स्थानीय व्यक्तिहरुसँग निरन्तर समन्वय गर्दै आएको छ।
एनआरएनए र रसुवाका जनप्रतिनिधिबीच सचिवालयमा भेट
रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहयोग प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले एनआरएनएले स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वयलाई तीव्रता दिएको छ। यसै क्रममा आज एनआरएनएको सचिवालयमा संघका पदाधिकारीहरु र रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा स्याफ्रुबेसी, कालिका लगायत विभिन्न वडाका जनप्रतिनिधि बीच छलफल भएको छ। सो क्रममा बाढीबाट भएको क्षति, प्रभावित परिवारको अवस्था, तत्काल आवश्यक राहत सामग्री तथा स्वास्थ्य सेवाको आवश्यकताबारे स्थानीय जनप्रतिनिधिबाट जानकारी लिइएको छ। छलफलका क्रममा प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री तथा सेवाको प्राथमिकता निर्धारण गरी स्थानीय तहसँगको समन्वयमा राहत परिचालन गर्ने विषयमा छलफल भएको छ।
स्थानीय तहबाट प्राप्त विवरणका आधारमा एनआरएनएले आवश्यक राहत सामग्रीको व्यवस्थापन तथा प्याकेजिङको कार्य अघि बढाएको छ। एनआरएनएका पदाधिकारी तथा स्वयंसेवक सम्मिलित टोली राहत सामग्रीसहित रसुवाका प्रभावित क्षेत्रमा जाने तयारीमा रहेको छ। टोलीले राहत वितरणसँगै प्रभावित परिवारको वास्तविक अवस्था, थप आवश्यकतासहित स्वास्थ्यसम्बन्धी समस्याको समेत स्थलगत जानकारी लिनेछ।
राहत तथा उद्धार कार्यसँगै बाढी–पहिरो प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै एनआरएनएले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि सम्बन्धित निकायसँग समन्वयलाई अघि बढाएको छ। यसै क्रममा आज रसुवाका विभिन्न बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयसँग आवश्यक समन्वय गरिएको छ। छलफलमा प्रभावित क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्याको अवस्था, शिविर सञ्चालनका लागि आवश्यक तयारी, प्रभावित स्थानको अवस्था, बाटोको पहुँच तथा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विषयमा जानकारी लिइएको छ। समन्वयका आधारमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्ने तयारी गरिएको छ। साथै, विपद्का कारण उत्पन्न हुन सक्ने मानसिक तनाव तथा आघातलाई समेत ध्यानमा राखी आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने विषयलाई स्वास्थ्य सेवाको योजनामा समेटिएको छ।
