१९ आश्विन २०८३, सोमबार
Follow Us

विपतका सारथी मनोज गोर्खाली !

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८३, आईतवार १९:०१

कतार । नेपालमा प्राकृतिक विपत्ति आइपर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) पीडितको घाउमा मलम लगाउन अग्रपंक्तिमा उभिँदै आएको छ। महाभूकम्पदेखि कोरोना महामारी हुँदै हिमालयन सुनामीसम्मका विपत्तिमा संघले पीडितको उद्धार, राहत तथा सहयोगका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

एनआरएनएको यही मानवीय अभियानमा निरन्तर साथ दिँदै आएका छन् संघका वर्तमान उपाध्यक्ष मनोज गोर्खाली। विपत्तिका बेला विदेशमा रहेर पनि प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर सहयोग तथा स्वयंसेवा अभियानलाई प्रभावकारी बनाउँदै आएका गोर्खाली पछिल्लो समय भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगमा समेत सक्रिय छन्।

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघले गोर्खालीकै संयोजकत्वमा स्वयंसेवक परिचालन गरेको छ। उनी बाढी आएको पहिलो दिनदेखि नै प्रभावित क्षेत्रमा खटिँदै आएका छन्। राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिँदै उनले आइतबार नुवाकोटको विदुर नगरपालिका–तुप्चे वडा नम्बर ७ मा १८ घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेका छन्।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का पञ्जीकृत सदस्यहरूको विशेष अनुरोधमा ती परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो। राहत प्राप्त गर्ने परिवारमा कुवेतबाट नारायणप्रसाद नेपाल, कतारबाट भरतप्रसाद नेपाल, साउदी अरेबियाबाट विजय कोइरी, अमेरिकाबाट राम कोइरी, साउदी अरेबियाबाट पुष्पहरीप्रसाद नेपाल, बैकुण्ठ नेपाल (ज्ञानी), कल्पना राउत, अमेरिकाबाट ओमन नेपाल, दुबईबाट कुमारप्रसाद नेपाल, साउदी अरेबियाबाट साधुराम थापा मगर, दुबईबाट भरत गौतम, डेनमार्कबाट धर्मकुमार शाही, दुबईबाट निर्मल कोइराला, कतारबाट दीपक ढकाल, कतारबाट सुरजकुमार शाही, अस्ट्रेलियाबाट सन्तोषकुमार थापा मगर, दुबईबाट ज्ञानबहादुर थापा मगर र अस्ट्रेलियाबाट सुरेन्द्र आचार्य रहेका छन्।

राहतस्वरूप १८ घरपरिवारलाई १८ थान ग्यास सिलिन्डर, १८ थान ग्यास चुलो र १८ थान प्रेसर कुकर वितरण गरिएको छ। विपत्तिका कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको बताइएको छ।

गोर्खालीले विपत्तिका समयमा पीडित नागरिकको सहयोगका लागि देश तथा विदेशमा रहेका नेपालीबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्। गैरआवासीय नेपाली संघको मानवीय अभियानलाई थप प्रभावकारी बनाउन स्वयंसेवक तथा राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्य महत्वपूर्ण रहेको उनको भनाइ छ।

यस अभियानमा सहयोग पुर्‍याएको भन्दै संघका केन्द्रीय उपाध्यक्ष तिलक गैरे तथा उहाँको सम्पूर्ण परिवारप्रति गोर्खालीले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। विपत्तिमा परेका नेपालीको दुःखमा साथ दिन गैरआवासीय नेपाली समुदाय सधैं अग्रसर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

धेरै पढिएको