१९ आश्विन २०८३, सोमबार
Follow Us

स्ट्रेलिङ आयल नाइजेरियाद्वारा नेपालका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग घोषणा

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८३, आईतवार १८:४६

नाइजेरिया — नाइजेरियामा रहेको प्रमुख तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी स्ट्रेलिङ आयल एक्सप्लोरेसन एण्ड इनर्जी प्रोडक्सन कम्पनी लिमिटेड (SEEPCO) ले नेपालका बाढीपीडितहरूको राहत तथा सहयोगका लागि ५० हजार अमेरिकी डलर (करिब ७६ लाख नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी पठाउने जनाएको छ। अफ्रिकाका १२ भन्दा बढी देशमा खनिज तेल, खनिज तथा मेटल क्षेत्रमा कार्यरत कम्पनीले आफ्नो कल्याणकारी शाखा “V-Care for Development Foundation” मार्फत ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको हो।

यसका साथै कम्पनीले नेपालका बाढीपीडितलाई थप सहयोग गर्न इच्छुक आफ्ना कर्मचारीहरूलाई समेत आन्तरिक रूपमा ऐच्छिक सहयोगका लागि आह्वान गरेको छ। कर्मचारीहरूबाट प्राप्त हुने स्वेच्छिक सहयोग रकमलाई कम्पनीले घोषणा गरेको ५० हजार अमेरिकी डलरमा थप गरी सम्पूर्ण सहयोग राशि यसै शुक्रबारभित्र नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरेको जनाएको छ।

यस मानवीय सहयोगका लागि SEEPCO का प्रमुख कार्यकारी अधिकृत मोहित बरोर, कम्पनी व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ। साथै, उक्त सहयोगका लागि प्रस्ताव प्रस्तुत गरी आवश्यक पहल गर्ने कम्पनीमा कार्यरत नेपाली अधिकारी दिलिप आचार्यलाई विशेष धन्यवाद व्यक्त गरिएको छ। उहाँको सत्प्रयास र पहलबाट नेपालका बाढीपीडितका लागि यो महत्वपूर्ण सहयोग सम्भव भएको बताइएको छ।

SEEPCO बारे

Sterling Oil Exploration & Energy Production Company Limited (SEEPCO) नाइजेरियाको लागोसमा मुख्यालय रहेको निजी क्षेत्रको प्रमुख तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी हो। सन् २००५ मा स्थापना भएको कम्पनीले नाइजेरियाको अपस्ट्रिम तेल तथा ग्यास क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ।

कम्पनीले OML 143 क्षेत्रमा Okwuibome (OKW) Blend कच्चा तेल उत्पादन गर्दै आएको छ। SEEPCO ले ऊर्जा क्षेत्रमा प्रविधि, दिगोपन तथा स्थानीय समुदायको विकासलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।

यस सहयोगप्रति आभार व्यक्त गर्दै एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकामा रहेका सम्पूर्ण नेपालीहरूको तर्फबाट SEEPCO प्रति धन्यवाद व्यक्त गरेका छन्। नेपालको मातृभूमि कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा कम्पनीले देखाएको मानवीय सहयोग र सद्भाव अत्यन्त प्रशंसनीय रहेको उनको भनाइ छ।

नेपालका बाढीपीडितहरूको पीडा र आवश्यकताप्रति संवेदनशील हुँदै गरिएको यस सहयोगका लागि स्ट्रेलिङ आयल तथा सम्पूर्ण कम्पनी परिवारप्रति अफ्रिकामा रहेका नेपाली समुदायको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ।

धेरै पढिएको