३ आश्विन २०८३, शनिबार
Follow Us

भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, आज आर्थिक सहकार्यबारे छलफल

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८३, शुक्रबार ०४:३०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै छन्।

तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

भ्रमणको दोस्रो दिन आज बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन्। इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो विचार राख्नेछन्।

यस्तै, आजै साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले भारत मण्डपममा आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे उच्चस्तरीय छलफल हुनेछ।

अर्थमन्त्रीको भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्र र अन्य उच्चस्तरीय भेटघाट गरेर अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ।

धेरै पढिएको