काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नसकिने भनेको छ ।
महाधिवेशनअन्तर्गत ७ असोजमा गाउँ–नगरपालिका अधिवेशन, १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको कार्यतालिका रहेको छ ।
कांग्रेसले नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था पनि गरेको छ । जसअनुसार ६ जना १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।
‘नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार हुनेगरी तोकिएबमोजिमका क्षेत्रबाट निर्वाचित हुने ६ जना,’ विधानको धारा २० (११) मा उल्लेख गरिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले १६ असोजदेखि सुरु हुने केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि १९ असोजमा मतदान गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आकार विगतका दुई महाधिवेशनको तुलनामा निकै ठूलो हुने देखिएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ ।
जसमध्ये १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन, भने ६१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेस विधानमा गरिएको छ । विधानमा सात प्रदेश सभापतिहरू र प्रतिनिधिसभा संसदीय दलको नेता केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था राखिएको छ ।
‘प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ,’ कांग्रेस विधानको धारा २१ को उपधारा ९१५० मा भनिएको छ ।
यसअघि १४ औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय थियो । जसअनुसार १३४ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था थियो भने, ३३ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।
त्यसअघि १३ औं महाधिवेशनबाट कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने विधानमा व्यवस्था गरेको थियो । विधानअनुसार सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गरिएको थियो ।
१३ औं महाधिवेशनबाट संशोधन भएको विधानमा बाँकी २१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था थियो । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बीच गत पुसमा सम्पन्न विशेष महाधिवेशनले अघिल्लो विधानबमोजिम १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानमा तीन जना थप गरेर ११ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ । जसमध्ये तीन जना सहमहामन्त्री सभापतिले मनोनीत गर्न पाउने छन् ।
कांग्रेसले आठ जना सहमहामन्त्रीहरू ‘कलस्टर’अनुसार महाधिवेशनबाट निर्वाचित हुने पुरानो व्यवस्थालाई निरन्तरता दिँदै थप तीन जनालाई सभापतिले मनोनीत गर्ने नयाँ वैधानिक व्यवस्था गरेको छ ।
‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यहरूमध्येबाट नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदित मनोनयन गरेका एक महिलासहित तीन जना सहमहामन्त्री,’ विधानको धारा २१ ९३० मा उल्लेख छ ।
कांग्रेसले ‘ल्याटरल इन्ट्री’ (विशेष प्रवेश) मार्फत पार्टीमा प्रवेश गरेकाहरूलाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिने गरी विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार अब कांग्रेसमा सात जना ‘ल्याटरल इन्ट्री’मार्फत पार्टीमा प्रवेश गरेकाहरू केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।
‘विभिन्न पेसा, व्यावसाय र विषयगत क्षेत्रमा क्रियाशील रही विशेष प्रवेशको मध्यमबाट नेपाली कांग्रेसमा आवद्ध भएका महाधिवेशन प्रतिनिधिहरूमध्येबाट दुई महिलासहित सात जना सदस्य,’ विधानको धारा २१ ९९० मा भनिएको छ ।
१५औं महाधिवेशनबाट कांग्रेसले युवालाई केन्द्रीय कार्यसमितिमा समेट्न युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुनपाउने गरी विधान संशोधन गरेको छ । जसअनुसार कांग्रेसमा अब ३५ वर्ष मुनिका २१ जना युवालाई केन्द्रीय कार्यसमितिमा देख्नपाइने छ ।
संशोधिन विधानले १५ औं महाधिवेशनमा हरेक प्रदेशबाट कम्तीमा पनि एक जना ३५ वर्ष मुनिका महिला केन्द्रीय सदस्यमा निर्वाचित हुने सुनिश्चित गरेको छ ।
‘३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुला सात जना गरी २१ जना सदस्य,’ विधानको धारा २० ९१०० मा लेखिएको छ ।
कांग्रेसले नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था पनि गरेको छ । जसअनुसार ६ जना १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।
‘नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार हुनेगरी तोकिएबमोजिमका क्षेत्रबाट निर्वाचित हुने ६ जना,’ विधानको धारा २० (११) मा उल्लेख गरिएको छ ।
संशोधित विधानले कांग्रेस सभापतिलाई केन्द्रीय कार्यसमितिमा ६१ जना मनोनयन गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ । यसअघि सभापतिले ३३ जना मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।
सभापतिले मनोनीत गर्दा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त, विभिन्न पेसा र विद्यागत प्रतिनिधित्व एवं युवा प्रतिनिधित्व र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यान दिनु पर्नेछ ।
‘नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त विभिन्न पेसा र विद्यागत प्रतिनिधित्व एवं युवा प्रतिनिधित्व र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ६१ जना सदस्य मनोनीत गर्नेछ,’ विधानमा उल्लेख छ ।
संशोधित विधानमा कोषाध्यक्ष मनोनीत गरिने पुरानै वैधानिक व्यवस्थालाई निरन्तरता दिइएको छ । विधानमा लेखिएको छ, ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक ।’
१३ औं महाधिवेशनसम्म कांग्रेसको कोषध्यक्ष पनि निर्वाचित हुनुपर्ने व्यवस्था थियो । १४औं महाधिवेशनमा विधान संशोधन गर्दा कोषाध्यक्ष निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यबाट मनोनीत गर्ने प्रावधान राखिएको थियो ।