काठमाडौं । कांग्रेस सभापति गगन थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन । आज (शनिबार) संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।
सभापति थापाले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने पनि बताएका छन । सभापति थापाले भिडियो सन्देशमा भनेका छन, ‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउने छ,’ भिडियो सन्देशमा सभापति थापाले भनेका छन्, ‘हामी संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने छौं ।’
उनले संविधानमा कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संविधान संशोधनको साहस र स्पष्टता पनि महाधिवेशनबाट ल्याउने बताएका छन् । ‘संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ । जसले संविधानका मूल्य र मानयताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्ने छ,’ थापाले भनेका छन्, ‘हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउने छौं ।’सभापति थापाले अधिवेशनमा आपसी तिक्तता थप बढाउने अवस्था निर्माण नगर्न पनि आग्रह गरेका छन् ।
‘अधिवेशन हाम्रा बीचका नमिलेका मन बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ । कि यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुन्न,’ थापाले भनेका छन्, ‘हिजो के भएको थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनका क्रममा बिर्सिनु पर्छ ।’अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरिएको पनि बताएका छन ।