लण्डन । लण्डनको नेपाली समुदाय, फेल्थमले बेलायती सांसद सीमा मल्होत्रासँग भेटघाट तथा छलफल गर्दै नेपालमा हालै आएको विनाशकारी प्राकृतिक विपत्तिबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा गम्भीर चासो व्यक्त गरेको छ।
छलफलका क्रममा नेपालमा आएको बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने विषय उठाइएको थियो।
सांसद मल्होत्राले बेलायत सरकारबाट नेपालका लागि ५ मिलियन पाउण्ड बराबरको अनुदान सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको जानकारी दिइन्। साथै, उद्धार टोली परिचालन, विपद् पूर्वतयारी तथा प्रारम्भिक रोकथामका क्षेत्रमा समेत सहयोगका लागि काम भइरहेको उनले बताइन्।
छलफलमा जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका प्रभाव, वातावरण संरक्षण र स्थानीय परिषद्को रिसाइक्लिङ प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा समेत चर्चा भएको थियो।
कार्यक्रममा हन्स्लो काउन्सिलका पूर्वमेयर विष्णु गुरुङले नेपालमा आएको विपत्तिका बेला बेलायत सरकारले देखाएको सहयोग र चासोप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाल सरकारले पनि बाढी प्रभावितको उद्धार, राहत तथा सहयोगका लागि आवश्यक पहल गरिरहेको बताए।