८ आश्विन २०८३, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेलायतका संयोजक सुनारलाई भट्टको सफल कार्यकालको शुभकामना

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०८३, बिहीबार ०३:१७

लण्डन । नेपाली कांग्रेस महासमिति सदस्य बिजन भट्टले नेपाली जनसम्पर्क समिति बेलायतका नवनियुक्त संयोजक शेरबहादुर सुनारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन आगामी १० असोजभित्र सम्पन्न गर्ने जिम्मेवारीसहित संयोजकमा नियुक्त भएका सुनारलाई बधाई दिँदै भट्टले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।

भट्टले नेपाली कांग्रेसको विधान, केन्द्रीय निर्देशन तथा मार्गदर्शनका साथै नेपाली जनसम्पर्क समिति बेलायतको विधानअनुसार क्रियाशील सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया विधिवत् सम्पन्न गरी जनसम्पर्क समिति बेलायतको अधिवेशन तथा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्नुपर्ने उल्लेख गरेका छन्।

यसका लागि आवश्यक विधि र प्रक्रियाको सम्मान गर्दै बेलायतमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भ्रातृसंस्थाका पदाधिकारी तथा सदस्यहरू र शुभेच्छुक सबैलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरेका छन्।

त्यस्तै, १० असोजभित्र अधिवेशन सम्पन्न गर्ने समयसीमालाई विशेष प्राथमिकताका साथ पालना गर्दै सबै पक्षबीच सहकार्य, समझदारी र समन्वय कायम गरेर अघि बढ्नुपर्नेमा भट्टले जोड दिएका छन्। उपलब्ध समयको प्रभावकारी सदुपयोग गर्दै अधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया समयमै पूरा गर्न उनले सम्बन्धित सबैमा अनुरोध गरेका छन्।

भट्टले अधिवेशन सम्पन्न गर्ने क्रममा आवश्यक पर्ने सहयोग, सुझाव तथा समन्वयका लागि आफू जुनसुकै समयमा पनि तयार रहेको बताएका छन्।

उनले एकता, सहकार्य र लोकतान्त्रिक विधिको सम्मान गर्दै नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न अधिवेशनलाई सफल बनाउन सबैको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गरेका छन्।

धेरै पढिएको