काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै न्युयोर्क पुगेका छन् । उनले आज राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम छ । गुटेरेसको कार्यकाल यो वर्षको अन्तिमसम्म मात्रै छ ।
राष्ट्रसंघले सार्वजनिक गरेको पछिल्लो कार्यतालिका अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा न्यूयोर्क समयअनुसार २४ सेप्टेम्बर २०२६,बिहिबार दिउँसो ३ बजेदेखि शुरु हुने सत्रमा बोल्ने पालो छ । नेपाली समयअनुसार यो सत्र शुक्रबार मध्यरात पौने १ बजेदेखि शुरु हुने छ ।
यो सत्रको प्रारम्भमा अष्ट्रेलिया, आयरल्यान्ड, ग्रीस, नेदरल्यान्ड्स, स्लोभेनिया, जर्जिया, आर्मेनिया, थाइल्याण्ड, बंगलादेशलगायत राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्नेछन् । जसअनुसार रोल क्रममा नेपालका तर्फबाट बोल्ने पालो नेपाल समयअनुसार भोलि बिहान ४ बजेदेखि साढे ४ बजेको आसपास हुने अनुमान गरिएको छ ।
महासभालाई सम्बोधन गर्ने सबै वक्ताको झैँ प्रधानमन्त्रीको सम्बोधन पनि संयुक्त राष्ट्रसंघको आधिकारिक वेव टिभीको लिंक webtv.un.org मा प्रत्यक्ष प्रशारण हुनेछ ।