१४ आश्विन २०८३, बुधबार
Follow Us

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०८३, बुधबार ०५:२०

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। १४औँ महाधिवेशनको तुलनामा प्रतिनिधिको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएपछि यस पटक उद्घाटन कार्यक्रमका साथै बन्दसत्रसमेत काठमाडौँको खुलामञ्चमै टेन्ट टाँगेर गर्ने तयारी भइरहेको छ।

अविरल वर्षाका कारण देशभरका क्षेत्रीय अधिवेशनहरू प्रभावित बनेपछि कांग्रेस निर्वाचन समितिले महाधिवेशनको तालिका दुई दिन पछाडि सारेर असोज १८ देखि २२ गतेसम्म पुर्‍याएको छ। यसअघि असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको कार्यक्रम परिमार्जन गरिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता भने पूर्वनिर्धारित समय असोज १६ गते शुक्रबारदेखि नै सुरु हुनेछ।

नयाँ कार्यतालिका अनुसार शुक्रबार र शनिबार प्रतिनिधि दर्ता सम्पन्न गरी असोज १८ गते आइतबार अपराह्न २ बजे खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ। त्यसपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ। हाल देशभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको काम जारी रहेको र बिहीबारसम्म सबै क्षेत्रको नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ।

१४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी रहेकामा यस पटक विधान संशोधन गरी प्रतिनिधित्वको दायरा फराकिलो बनाइएकाले प्रतिनिधिको सङ्ख्या बढेको हो। यसअघि एक निर्वाचन क्षेत्रबाट २४ जना निर्वाचित हुने गरेकामा यस पटक ३३ जनाका दरले १६५ क्षेत्रबाट ५ हजार ४ सय ४५ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित भएर आउनेछन्। गाउँ-नगरपालिका र प्रदेशसभा क्षेत्रीय सभापति पदेन प्रतिनिधि हुने व्यवस्थाले यो सङ्ख्या ६ हजार ५ सय २८ पुग्नेछ।

यसका साथै महाधिवेशनमा समावेशी र युवा सहभागिता बढाउन प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व विधानमार्फत नै सुनिश्चित गरिएको छ। प्रजातन्त्रका सेनानी, सहिद परिवार, द्वन्द्वपीडित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र पेसागत विषयविज्ञबाट पनि १/१ जना प्रतिनिधि थपिने व्यवस्था गरिएको छ। विदेशस्थित ३७ मध्ये महाधिवेशनमा सहभागी हुने २८ वटा जनसम्पर्क समितिबाट थप करिब दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

धेरै पढिएको