जाजरकोट । उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक महिलाको झुण्डिएर मृत्यु भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि भेरी नगरपालिका–३, थाप्लेस्थित जिल्ला अस्पताल जाजरकोटमा भर्ना भएकी भेरी नगरपालिका–१२, धाइराकी ३० वर्षीया ईश्वरी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार मंगलबार बेलुका ३:५० बजे अस्पतालको शौचालयको झ्यालमा सलको पासो लगाई झुण्डिएको अवस्थामा रानालाई उनका श्रीमान् कुलबहादुर बस्नेत र स्वास्थ्यकर्मीले फेला पारेका थिए । तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पुरीले जानकारी दिएका छन् ।
ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ
त्यस्तै, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जुनीचाँदे गाउँपालिका–४, पाँगाका ७५ वर्षीय गंगाराम शाही आफ्नै घरको सिँढी नजिक छिँडामा बाँया पट्टिको टाउकोमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा धारिलो वस्तु हँसिया (खुपी) समेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको संलग्नता रहेको आशंका भएपछि मृतकका छोरा राजकुमार शाहीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले शर्मिला शाहीलाई निजकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।