१६ आश्विन २०८३, शुक्रबार
Follow Us

लन्डनस्थित नेपाली व्यवसायी रविन्द्रजंग लामिछानेको फाउण्डेशनद्वारा बाढीपीडितलाई एक करोड सात लाख सहयोग

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८३, शुक्रबार ०४:५१

लन्डन । लन्डनस्थित नेपाली व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेको अध्यक्षतामा रहेको ‘द लामिछाने फाउण्डेशन’ ले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि एक करोड सात लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ।

बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता रहेको द लामिछाने फाउण्डेशनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७२७ पाउण्ड जम्मा गरेको हो। हालको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँमा करिब एक करोड सात लाख बराबर हुन आउँछ।

भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले फाउण्डेशनले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष लामिछानेले सहयोग रकमको चेक कार्यवाहक राजदूत विपिन दुवाडी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणा लाई हस्तान्तरण गरे।

चेक हस्तान्तरण गर्दै लामिछानेले प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीको पीडामा आफू र आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विपद्का बेला देशभित्र र बाहिर रहेका नेपाली समुदाय, संघसंस्था तथा परोपकारी संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

फाउण्डेशनले बेलायतमा रहेका नेपाली समुदाय तथा शुभेच्छुकबाट प्राप्त सहयोग र आफ्नै पहलमार्फत संकलित रकमलाई विपद् प्रभावितसम्म पुर्‍याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ। बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै पुनःस्थापनाका लागि पनि सहयोग आवश्यक पर्ने भएकाले मानवीय सहयोगलाई निरन्तरता दिने फाउण्डेशनको भनाइ छ।

कार्यक्रममा नेपाली दूतावासका अधिकारी, बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो।

नेपाली दूतावासले फाउण्डेशनबाट प्राप्त उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाएको छ। कोषमार्फत प्राप्त रकमलाई बाढीपीडितको राहत तथा उद्धार कार्यमा प्रयोग गरिने दूतावासले जनाएको छ।

लन्डनमा व्यवसायसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय लामिछानेले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्। द लामिछाने फाउण्डेशनले शिक्षा, स्वास्थ्य, विपद् राहत तथा समुदाय केन्द्रित सामाजिक कार्यमा सहयोग गर्दै आएको बताइएको छ।

धेरै पढिएको