नवलपरासी । पूर्वी नवलपरासीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा अनियन्त्रित भएर सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार थिए । तीमध्ये दुई जना सकुशल रहेको डीएसपी अनिल पण्डितले जानकारी दिए । मृतकमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ । मृत्यु भएका अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १० जनाको भने पहिचान खुलेको छ । उनीहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ ।
घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, मंगलसेन नगरपालिका–६ अछामका २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, ठाकुरबाबा नगरपालिका–१ बर्दियाकी २० वर्षीया आकृती, स्वामीकार्तिक गाउँपालिका–५ बाजुराका ३२ वर्षीय पवन बुढा, राजापुर नगरपालिका–९ बर्दियाका २८ वर्षीय सञ्जय थारु, स्वामीकार्तिक गाउँपालिका–१ बाजुराका २५ वर्षीय प्रेम बम, ललितपुरका २९ वर्षीय अनोज खत्री, बाँसगढी नगरपालिका–७ बर्दियाका ३६ वर्षीय लालबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाँकेका ४८ वर्षीय अस्लाम भगवान र वनगाड कुपिण्डे नगरपालिका–१ सल्यानका २१ वर्षीय अनिल बुढाथोकी छन् ।