काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले स्थानीय चुनावका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन समिति गठनको तयारी गरेको छ ।
यसै विषयमा छलफल गर्न रास्वपाले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे वनस्थलीस्थित घन्टीघरमा बस्ने बैठकले उम्मेदवार छनोट समितिका सदस्य मनोनयनबारे छलफल गर्नेछ ।
बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौं’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि पनि छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
त्यसैगरी अन्य सांगठनिक तथा समसामयिक विषयलाई समेत बैठकको विविध कार्यसूचीमा राखिएको छ ।