२५ आश्विन २०८३, आईतवार
Follow Us

एनआरएनएका २३ वर्ष : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८३, आईतवार ०६:५१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले नेपालको जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा गैरआवासीय नेपालीहरूको लगानी तथा योगदान महत्वपूर्ण रहेको बताएका छन्।

संघको २३औँ स्थापना दिवसका अवसरमा आइतबार जारी शुभकामना सन्देशमा अध्यक्ष शर्माले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने अभियानले २३ वर्ष पूरा गरेको उल्लेख गरेका छन्।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभरका नेपाली समुदायलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। हाल ९० भन्दा बढी देशमा सञ्जाल विस्तार गरेको संघ स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको उनले उल्लेख गरेका छन्।

शर्माका अनुसार गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा भित्र्याउन लामो समयदेखि गरिएको पैरवीपछि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत लगानीका नयाँ अवसर खुलेका छन्। यसबाट ठूला लगानीकर्तासँगै वैदेशिक रोजगारीमा रहेका नेपाली तथा साना र मझौला लगानीकर्तालाई समेत नेपालमा लगानी गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

यद्यपि, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र वंशजको नागरिकताको निरन्तरतासम्बन्धी विषय समाधान हुन नसक्दा लगानीकर्ताको आत्मविश्वास बढाउन चुनौती रहेको शर्माले बताएका छन्। ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई व्यवहारमा उतार्न अझै प्रभावकारी पहल आवश्यक रहेको उनको भनाइ छ।

संघले आर्थिक लगानीसँगै बौद्धिक लगानी, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको छ। यसअन्तर्गत चौथो विश्व ज्ञान सम्मेलन आयोजना गर्ने तथा एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमी स्थापना गर्ने तयारी भइरहेको शर्माले जानकारी दिएका छन्।

विश्वभरका महिलालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले प्रथम एनआरएन विश्व महिला सम्मेलन आयोजना गर्ने योजना पनि संघले अघि सारेको छ। विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्न काठमाडौंमा पहिलो दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने तथा उनीहरूलाई नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने तयारीसमेत भइरहेको छ।

शर्माले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षित तथा व्यवस्थित आप्रवासन, योगदानमा आधारित सामाजिक सुरक्षा, कमाइको उत्पादनमूलक क्षेत्रमा लगानी र विदेशमा रहेका नेपालीको मतदान अधिकारलाई सम्बोधन गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

श्रमिकका हकहित संरक्षण तथा उनीहरूका समस्या समाधानका लागि संघले सम्बन्धित निकायसँग समन्वय गर्दै आएको उनले उल्लेख गरेका छन्। यस क्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) जस्ता संस्थासँग सहकार्य भइरहेको छ। नेपालमा विपद्का बेला सहयोग र समन्वयका लागि अन्तर्राष्ट्रिय रेडक्रससँग पनि हालै सम्झौता गरिएको उनले बताएका छन्।

नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने, नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने काममा पनि संघले निजी क्षेत्रका संस्थाहरूसँग सहकार्य गर्ने नीति लिएको छ।

कोभिड महामारीपछि संघभित्र देखिएको असहज परिस्थितिका कारण गैरआवासीय नेपाली समुदायसँगको संवाद र सम्पर्क कमजोर भएको स्वीकार गर्दै शर्माले विश्वका छवटै क्षेत्रमा क्षेत्रीय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका छन्।

संघलाई आधुनिक, समावेशी, प्रभावकारी र उत्तरदायी बनाउन सदस्यहरूको अपनत्व बढाउने तथा अनलाइन मतदानको व्यवस्था गर्ने पहल अघि बढाइएको पनि उनले उल्लेख गरेका छन्।

स्थापना दिवसको सन्देशमा शर्माले हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावित नेपालीलाई सहयोग गर्ने गैरआवासीय नेपालीहरूप्रति आभार व्यक्त गरेका छन्। राहतपछि पुनर्निर्माणमा समेत सहयोग गर्ने निर्णय संघले सरकारसँगको परामर्शमा गरेको जनाउँदै उनले विश्वभरका नेपालीलाई पुनर्निर्माण अभियानमा सहकार्य गर्न आह्वान गरेका छन्।

उनका अनुसार गैरआवासीय नेपाली दिवस उत्सव मनाउने अवसर मात्र नभई मातृभूमिप्रतिको जिम्मेवारी र योगदानको समीक्षा गर्दै आगामी दिनमा साझा प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसर पनि हो।

धेरै पढिएको