गैरआवासीय नेपाली संघ (एनआरएनएए) का निवर्तमान प्रवक्ता गंगाधर गौतमले संस्थाभित्रको एकता, पारदर्शिता र सबैको सम्मानजनक सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन् ।
संघको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गौतमले विगतका मतभेद र असमझदारीलाई संवाद तथा सहमतिबाट समाधान गरी संस्थालाई थप सशक्त, व्यवस्थित र विश्वसनीय बनाउनुपर्ने बताएका हुन् ।
उनले एनआरएनए कुनै व्यक्ति, समूह, भूगोल वा पुस्ताविशेषको संस्था नभई सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्था, पहिचान र जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
दशौँ महाधिवेशनपछि देखिएका चुनौतीबाट पाठ सिक्दै पछिल्लो महाधिवेशनबाट अघि बढेको एकताको प्रयासलाई दिगो र संस्थागत बनाउनुपर्नेमा जोड दिँदै गौतमले संस्थापक, अग्रज अभियन्ता, वर्तमान तथा पूर्व नेतृत्व र सदस्य सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार संस्थागत एकता घोषणामा मात्र सीमित नभई निर्णय प्रक्रियामा सबैको सहभागिता, विधि र विधानको सम्मान, पारदर्शिता तथा पारस्परिक विश्वासमा प्रतिबिम्बित हुनुपर्छ ।
नेतृत्वले व्यक्तिगत तथा समूहगत आग्रहभन्दा माथि उठेर संस्थाको दीर्घकालीन हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
विश्वभरका नेपालीलाई संगठित गर्दै विदेशमा आर्जित ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको समृद्धिसँग जोड्नु संघको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उनले विपद् तथा कठिन परिस्थितिमा मातृभूमिको सेवामा योगदान दिन सक्ने संस्थागत क्षमता विकास गर्नुपर्ने बताएका छन् ।
स्थापना दिवसको शुभकामना दिँदै गौतमले एकताबद्ध, समावेशी र विश्वसनीय एनआरएनए निर्माणका लागि सबैलाई हातेमालो गर्न आह्वान गरेका छन् ।