टर्की । टर्कीको इस्तानबुलमा बुधवारदेखि परेको भीषण वर्षाका कारण आएको बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना अझै बेपत्ता छन् ।
सडक र बस्ती जलमग्न भएपछि हजारौँ मानिस अलपत्र परेका छन्, जसको उद्धारका लागि स्थानीय प्रशासनले युद्धस्तरमा काम गरिरहेको छ । बुधबार बिहानैबाट शुरु भएको मुसलधारे वर्षाले इस्तानबुलको जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ । सायरियर जिल्लाको आयाजागा क्षेत्रमा बाढीले बगाएको एक व्यक्तिको शव फेला परेपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसअघि १४ वर्षीय एक बालकको पानी जमेको स्थानमा करेन्ट लागेर मृत्यु भएको थियो भने ३४ वर्षीय एक बटुवाको बाढीमा बगेर ज्यान गएको थियो । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्ट्सीकाअनुसार सहरका केही भागमा प्रतिवर्ग मिटर २७२ किलोग्रामसम्म वर्षा रेकर्ड गरिएको छ । भारी वर्षाका कारण आपतकालीन केन्द्रहरूमा ८ हजार ८१५ वटा उद्धारका कलहरू प्राप्त भएका छन् । सहरका प्रमुख सडकहरू डुबानमा पर्दा सवारी आवागमन ठप्प भएको छ भने धेरै बासिन्दाहरू आफ्नै घरभित्र थुनिएका थिए । इस्तानबुलका गभर्नर दाभुत गुलले बाढीमा फसेका ३ हजार ५० जनाको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गभर्नर गुलले अहिलेको अवस्थामा बाढीमा फसेर कसैको उद्धार पर्खनुपर्ने अवस्था नरहेको दाबी गरे । यद्यपि जोखिम कायमै रहेकाले सहरभरिका विद्यालयहरू शुक्रवारसम्मका लागि बन्द गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले भने थप सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रवार बिहानबाट पुनः वर्षा शुरु भई शनिवारसम्म जारी रहने चेतावनी दिइएको छ । बाढीको विपत्तिपछि टर्कीका अधिकारीहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिएका छन् ।