स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु, दर्जनौँ गम्भीर घाइते
म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ। क्षेत्रीय सरकारका अधिकारीहरूका अनुसार दुर्घटनामा दर्जनौँ यात्रु गम्भीर घाइते भएका छन्।
दुर्घटनामा ५०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ। घटनापछि उद्धार टोलीले दुर्घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिरहेको छ। घाइतेहरूलाई अस्पताल पुर्याइएको छ भने मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरिएको छ।
यस दुर्घटनालाई सन् २०१३ पछि स्पेनमा भएको सबैभन्दा ठूलो रेल दुर्घटना मानिएको छ। सन् २०१३ मा उत्तरपश्चिमी स्पेनमा रेल लिकबाट खस्दा ८० जनाको मृत्यु भएको थियो।
रेल सञ्चालक संस्था एडिफका अनुसार दुर्घटनामा रेन्फे कम्पनीको रेल र म्याड्रिडदेखि सेभिलसम्मको मार्गमा सञ्चालन हुने इर्यो कम्पनीको रेल संलग्न थिए। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफू घटनाबारे स्तब्ध भएको बताएका छन्। उनले यातायातमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेर घटनाको अवस्थाबारे जानकारी लिइरहेको जनाइएको छ।
दुर्घटनामा परेका एक १७ वर्षीय यात्रुले स्पेनी सञ्चारमाध्यमसँग कुरा गर्दै घटनास्थलमा ठूलो अव्यवस्था र त्रासको अवस्था रहेको बताएका छन्।

