ब्रेकिङ न्युज

प्रधानमन्त्री बालेनको भ्रमणअघि भारतको ‘सरप्राइज’, नयाँ रेल रुटलाई अनुमति

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ रेल रुट सञ्चालन गर्न अनुमति दिएको छ ।

भारतको रेल मन्त्रालयले शनिबार नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबिच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको हो। करिब ६०४ किलोमिटर लामो यो रेलमार्गले जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ ।

यसले नेपाल र भारतबिचको रेल सम्पर्क विस्तार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अनुमान गरिएको छ । जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिन्छ । रामायण परम्परासँग जोडिएका यी दुई धार्मिक सहर रेलमार्गले जोडिएपछि दुवै देशका तीर्थयात्री र पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ ।

जनकपुरधाम र अयोध्या क्यान्टबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा यात्रु चढाउने तथा ओराल्ने व्यवस्था हुनेछ । भारतीय रेलवेका अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट रेल छुट्नेछ ।

नयाँ रेल सेवाले धार्मिक यात्रासँगै शिक्षा, व्यापार र पारिवारिक कामका लागि नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुग्ने अपेक्षा गरिएको छ । यसले रामायणसँग सम्बन्धित पर्यटन सर्किट विस्तार गर्नुका साथै सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग गर्नेछ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम