मुख्य समाचार

त्रिभुवन विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । भारतको दिल्लीबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान छन् । उनलाई कात्तिक २८ गते विमानस्थलमा खटिएको ब्युरोको टोलीले पक्राउ गरेको हो ।

हवाई मार्गबाट नेपाल आउने यात्रुमाथि निगरानी गरिरहेको टोलीले शंका लागेपछि सलमानको झोला जाँच गरेको थियो । झोलाभित्र प्लास्टिकका प्याकेटमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरीले सलमानको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम