जनसम्पर्क समिति बेलायतको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ पुनः सर्वसम्मत चयन भएका छन् । आगामी २२ नोभेम्बरमा लण्डनमा आयोजना हुने समिति (देउवा समूह) को छैटौँ महाधिवेशनका लागि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आइतबार भएको मनोनयन दर्तामा सभापति पदमा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त कमल कँडेलले सभापति पदमा गुरुङको एकल उम्मेदवारी परेको पुष्टि गर्दै उनी सर्वसम्मत चयन भएको जानकारी दिए । महाधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि २७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ ।
वि.सं. २०४२ सालदेखि राजनीतिमा सक्रिय गुरुङले नेपाल विद्यार्थी संघ संखुवासभाको अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए । नेपाली कांग्रेसको भ्रातृ तथा जनसम्पर्क संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिको जिम्मेवारी यसअघि दुई कार्यकाल सम्हालिसकेका छन् ।
यसैबीच, नेपाली कांग्रेसको आगामी मंसिरमा हुने महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसमेत चयन भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको पहिलो नामावलीअनुसार उपसभापतिमा विनोद योन्जन, विशाल राई र सन्तोष सुवेदीको उम्मेदवारी परेको छ । त्यस्तै, महामन्त्रीमा टपेन्द्र राई, सुजन बन्जरा र निशान लिम्बु उम्मेदवार रहेका छन् ।
सहमहामन्त्री पदमा सुधिर भण्डारी, बसन्त राई, दुर्गा लिम्बु, एलबीजेड गुरुङ र ज्ञानुराज राईको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सुजित शाही एकल उम्मेदवार रहेका छन् ।
त्यसैगरी, सदस्य पदका लागि दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्याज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्बो र मिलन शाहीको नाम उम्मेदवारको सूचीमा समावेश छ ।
महाधिवेशन प्रतिनिधिका रूपमा युवराज गुरुङ, विनोद मोक्तान, विशाल राई, निशान लिम्बु, विनोद योन्जन, सुजित शाही, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोक गुरुङ, निर्मल सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, पारस कोइराला र राजकुमार सुनार चयन भएका छन् । तीमध्ये युवराज गुरुङ, विनोद मोक्तान, सन्तोष सुवेदी, लोक गुरुङ, रोजिना गुरुङ र राजकुमार सुनार महासमिति सदस्यका रूपमा समेत चयन भएको नामावलीमा उल्लेख छ ।
यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षले हितकाजी गुरुङको सभापतिका एक कार्यसमिति गठन गर्ने घोषणा गरेको थियो ।
समितिको छैटौँ महाधिवेशनले बेलायतमा नेपाली कांग्रेसको संगठन विस्तार, आपसी एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


