डायस्पोरा

एनआरएनएको आईसीसी बैठक नोभेम्बर २२ मा बस्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठक आगामी नोभेम्बर २२, २०२६ (आइतबार) नेपाली समयअनुसार साँझ ५ बजे बस्ने भएको छ।

संघका आईईएस/ओबी सदस्यहरू, आईसीसी सदस्यहरू तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्षहरूलाई सम्बोधन गर्दै बैठकबारे जानकारी गराइएको हो। बैठकमा बाढी प्रभावित नेपालको भोटेकोशी क्षेत्रको पुनर्निर्माण योजना, आगामी एनआरएनएका कार्यक्रम तथा अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीलगायतका महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकको पहिलो कार्यसूचीअन्तर्गत भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रस्तावित अवधारणा तथा योजनाबारे छलफल हुनेछ। साथै हालसम्म भएका प्रगति विवरण, सुझाव तथा सिफारिस आदानप्रदान गर्दै आगामी कार्यदिशा र आवश्यक समन्वय तथा सहयोगका विषयमा समेत छलफल गरिनेछ।

त्यसैगरी, एनआरएनएको सहभागिता रहने आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूबारे जानकारी र आवश्यक तयारीका विषयमा छलफल हुनेछ। जसअन्तर्गत डिसेम्बर २ देखि १५ सम्म सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, डिसेम्बर ४ र ५ मा जनकपुरमा हुने छैटौँ एनआरएन स्वास्थ्य सम्मेलन तथा डिसेम्बर ११ र १२ मा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन (पहिलो एनआरएन ग्लोबल लेबर सम्मेलन) रहेका छन्।

यसैगरी, सन् २०२७ जनवरी २ देखि ४ सम्म आयोजना हुने पहिलो एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन, पहिलो एनआरएन महिला विश्व सम्मेलन र चौथो एनआरएन ग्लोबल नलेज सम्मेलनका तयारी तथा सहभागिताबारे पनि छलफल हुनेछ।

बैठकको अर्को महत्वपूर्ण एजेन्डामा सन् २०२७ जनवरी ६ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी रहेको छ। महाधिवेशनको समग्र व्यवस्थापन, विधान संशोधन समितिको प्रगति विवरण, वार्षिक आर्थिक प्रतिवेदनको प्रस्तुति तथा छलफल र महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक अन्य विषयमा विचारविमर्श गरिने जनाइएको छ।

सामान्यतया प्रत्येक तीन महिनामा आयोजना हुँदै आएको आईसीसी बैठक यसपटक भने आगामी दिनमा महत्वपूर्ण कार्यक्रम तथा गतिविधिहरूको चाप र समयमै समन्वय, योजना तथा निर्णय गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै निर्धारित समयभन्दा अगाडि नै बोलाइएको हो।

बैठकको महत्व र एजेन्डाको संवेदनशीलतालाई मध्यनजर गर्दै संघका सम्पूर्ण आईसीसी पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य प्राथमिकतामा राखी बैठकमा सहभागी हुन आग्रह गरिएको छ। बैठकमा सदस्यहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव र सामूहिक प्रतिबद्धताले संघका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा आगामी अन्तर्राष्ट्रिय महाधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता