सात दिनभित्र राजनीतिक दलको आबद्धता त्याग्न एनआरएनएका पदाधिकारीलाई निर्देशन
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो केन्द्रीय नेतृत्व तथा सदस्यहरूलाई राजनीतिक दल वा राजनीतिक उद्देश्य भएका संस्थामा रहेको पद तथा सदस्यता सात दिनभित्र त्याग्न निर्देशन दिएको छ।
संघका महासचिव डा. चिरञ्जीवी खड्काले मंगलबार औपचारिक परिपत्र जारी गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन्।
संघको विधानले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा परिभाषित गरेको उल्लेख गर्दै परिपत्रमा संस्थाको गैरराजनीतिक पहिचान, स्वायत्तता र स्वतन्त्र अस्तित्वलाई आधारभूत संस्थागत मान्यताका रूपमा व्याख्या गरिएको छ।
पछिल्लो समय संघका केही पदाधिकारी तथा सदस्यहरू नेकपा एमाले र नेपाली कांग्रेसलगायत राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा निर्वाचित, मनोनीत तथा चयन भएको भन्दै विभिन्न उजुरी तथा गुनासाहरू प्राप्त भएको संघले जनाएको छ।
यस विषयमा अक्टोबर ४ र ५, २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा विस्तृत छलफल भएको थियो। बैठकले संघको गैरराजनीतिक पहिचान र संस्थागत स्वायत्तता कायम राख्न विधानमा रहेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख छ।
निर्देशनअनुसार राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा रहेका एनआरएनएका पदाधिकारी तथा सदस्यहरूले परिपत्र प्राप्त भएको मितिले सात दिनभित्र त्यस्तो पद वा सदस्यता त्याग गर्नुपर्नेछ। साथै, पद वा सदस्यता त्याग गरेको आधिकारिक प्रमाणसहित लिखित जानकारी संघको सचिवालयमा बुझाउनुपर्नेछ।
तोकिएको समयभित्र निर्देशन पालना नगर्ने वा प्राप्त उजुरीमाथिको छानबिनबाट विधानविपरीत कार्य भएको पुष्टि हुने पदाधिकारी तथा सदस्यहरूमाथि संघको विधान र प्रचलित कानुनअनुसार आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
संघले उक्त परिपत्र कुनै व्यक्तिगत आग्रह नभई अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकको निर्णय कार्यान्वयन तथा संस्थाको गैरराजनीतिक चरित्र संरक्षण गर्ने उद्देश्यले जारी गरिएको स्पष्ट पारेको छ।
महासचिव डा. खड्काद्वारा हस्ताक्षरित परिपत्र तत्काल लागू हुने जनाइएको छ।
यस निर्देशनसँगै राजनीतिक दलमा आबद्ध रहेका एनआरएनएका पदाधिकारी तथा सदस्यहरूले संघको जिम्मेवारी र राजनीतिक संगठनको पदमध्ये एउटा रोज्नुपर्ने अवस्था सिर्जना भएको छ।

