एनआरएनए विश्व महिला सम्मेलनबारे बिहीबार पत्रकार सम्मेलन हुने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी जनवरी महिनामा पहिलोपटक अन्तर्राष्ट्रिय विश्व महिला सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। सम्मेलनबारे जानकारी दिन संघले बिहीबार आफ्नो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
संघकी उपाध्यक्ष टीका गुरुङका अनुसार काठमाडौंमा आयोजना हुन लागेको पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको मूल नारा ‘महिला सशक्तीकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ रहेको छ। नेपाल सरकारसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा विश्वभर रहेका नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको सहभागिता रहनेछ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलोपटक हो।
विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा नेपालका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई एउटै मञ्चमा जोडेर अनुभव, ज्ञान र सीप आदानप्रदान गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। साथै, महिला सशक्तीकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका लागि आवश्यक पहल र भावी कार्यदिशा तय गर्ने लक्ष्यसमेत राखिएको छ।
सम्मेलनमा महिला सशक्तीकरणसँग प्रत्यक्ष सरोकार राख्ने चारवटा प्रमुख विषयगत क्षेत्रलाई केन्द्रमा राखेर बृहत् छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिनेछ।
महिला सशक्तीकरणसँग सम्बन्धित विद्यमान ऐन, निर्देशिका, नीति तथा संस्थागत संरचनाको समीक्षा गर्दै तिनमा रहेका चुनौती र सुधारका सम्भावित क्षेत्रबारे छलफल गरिनेछ। विशेषगरी डायस्पोरा समुदायका महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयलाई प्राथमिकताका साथ उठाइनेछ।
त्यसैगरी, वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार तथा मानसिक स्वास्थ्यका सवाल र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषयमा पनि छलफल हुनेछ। यस प्रक्रियामा गैरआवासीय नेपाली संघको भूमिका र आवश्यक सहकार्यका क्षेत्रसमेत पहिचान गरिनेछ।
स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी र सहकार्य विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि र महिला उद्यमशीलताको विकासलाई पनि सम्मेलनले प्राथमिकतामा राख्नेछ।
यसका साथै नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवर्द्धन, बजारीकरण तथा अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता विस्तार गर्ने सम्भावनाबारे समेत विमर्श गरिने आयोजकले जनाएको छ।


