ताजा खबर

बेलायतमा शरणार्थी आवेदन अस्वीकृत भएकालाई पूर्वसूचना बिना नै देश निकाला गर्न सकिने

लन्डन । बेलायत सरकारले शरणार्थी आवेदन अस्वीकृत भएका व्यक्तिलाई देश निकाला गर्नुअघि पाँच कार्यदिनको पूर्वसूचना दिनुपर्ने व्यवस्था हटाउने तयारी गरेको छ।

हाल बेलायतमा शरणार्थी आवेदन अस्वीकृत भएका व्यक्तिलाई देशबाट हटाउनुअघि पाँच कार्यदिनको सूचना दिने व्यवस्था छ। तर सरकारले यस्तो सूचनाका कारण अन्तिम समयमा पुनरावेदन तथा कानुनी प्रक्रिया सुरु हुने र देश निकाला गर्ने प्रक्रिया ढिलाइ हुने बताएको छ।

नयाँ प्रस्तावित नियमअनुसार, शरणार्थी आवेदन अस्वीकृत भएपछि र पुनरावेदनका सबै कानुनी प्रक्रिया समाप्त भएपछि गृह मन्त्रालयले सम्बन्धित व्यक्तिलाई अग्रिम जानकारी नदिई देश निकाला गर्न सक्नेछ।

सरकारले आवेदन अस्वीकृत भएको मितिदेखि छ महिनासम्म यस्तो अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गर्न लागेको हो।

गृहमन्त्री शबाना महमुदले हाल संसद्मा छलफल भइरहेको अध्यागमन तथा शरणार्थी विधेयकमा संशोधनमार्फत उक्त व्यवस्था लागू गर्ने तयारी गरेकी छन्।

तर सरकारको प्रस्तावप्रति शरणार्थी अधिकारका लागि काम गर्ने संस्था रिफ्युजी काउन्सिलले आपत्ति जनाएको छ।

संस्थाले छोटो समयको सूचनामा मानिसहरूलाई देश निकाला गर्दा उनीहरूमा अनावश्यक मानसिक तनाव र चिन्ता सिर्जना हुने बताएको छ।

संस्थाका निर्देशक इमरान हुसेनले जबर्जस्ती देश निकाला गर्नुभन्दा स्वेच्छाले स्वदेश फर्किने वातावरण बनाउनु प्रभावकारी हुने बताएका छन्।

उनका अनुसार मानिसहरूलाई सम्मानजनक तरिकाले स्वदेश फर्किन सहयोग गरेमा धेरैले स्वेच्छाले फर्किने विकल्प रोज्न सक्छन्, जसले सरकारको खर्चसमेत कम गर्नेछ।

सरकारले नयाँ व्यवस्थाबाट थप कति जनालाई देश निकाला गर्न सकिन्छ भन्ने स्पष्ट तथ्याङ्क सार्वजनिक गरेको छैन।

यद्यपि, सरकारले डेनमार्कको उदाहरण दिँदै यस्तै नीति लागू भएपछि पाँच वर्षको अवधिमा देश निकाला हुन बाँकी रहेका आप्रवासीको संख्या आधाभन्दा बढीले घटेर एक हजारभन्दा कम पुगेको जनाएको छ।

यसअघि बेलायतका प्रधानमन्त्री नेतृत्वको सरकारले शरणार्थी आवेदनको चाप र बाँकी रहेका मुद्दाहरूको संख्या घटाउने प्रतिबद्धता जनाएको थियो।

नयाँ नियम लागू भएमा शरणार्थी आवेदन अस्वीकृत भई सबै कानुनी प्रक्रिया पूरा गरेका व्यक्तिहरूलाई बेलायतबाट हटाउने प्रक्रिया थप कडा र छिटो हुने देखिएको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता