पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो ।
सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई कार्यालयमा हाजिर नभएको आधारमा हटाइएको हो। पदमेन्द्र प्रसाद श्रेष्ठलाई भने बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको आधारमा हटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पहिलो ६ जनामाथि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) र श्रेष्ठमाथि सोही उपदफाको खण्ड (छ) बमोजिम कारबाही गरिएको हो। सातै जनालाई ऐनको दफा ५९ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाइएको हो।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।

