ब्रेकिङ न्युज

१० वर्षमा काठमाडौं-तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

फास्ट ट्र्याकको निर्माण कार्य २०७४ साल साउन २७ गतेदेखि औपचारिक रूपमा सुरु भएको थियो । कसले निर्माण गर्ने भन्ने विषयमा बहस चलिरहेकै बेला २०७४ मंसिरदेखि नेपाली सेनाले सडकको ट्र्याक निर्माण कार्य सुरु गरेको हो । निर्माण कार्य सुरु गरेको १० वर्षमा नेपाली सेनाले ५१ प्रतिशत सम्पन्न गरेको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु)कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् ।

तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ । आयोजना निर्माणबारे जानकारी दिँदै नेपाली सेनाले अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको जनाएको छ । उच्च प्रविधियुक्त पुललगायत द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अपेक्षित गतिमा अघि बढिरहेको सेनाको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार ३ हजार ४ सय २२ मिटर लम्बाई रहेको महादेवटार सुरुङको ब्रेक थ्रु गरे ।

आयोजनाको निर्माण कार्य विभिन्न चरणमा प्रभावित भएपनि अहिले ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्या प्रमुख चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिव ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या समाधान भएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने नेपाली सेनाले जनाएको छ ।

महादेवटार सुरुङ आयोजनाको सबैभन्दा लामो सुरुङ हो । यसको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदुत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ । साथै आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम