मुख्य समाचार

ईनम सापकोटालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले बिहीबार सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँलाई म्याद थप गरेको हो ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सापकोटासँगको संलग्नता देखिएपछि श्रेष्ठ र भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

प्रहरीका अनुसार सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । त्यस्तै, पक्राउ परेका अन्य दुई जना श्रेष्ठ र भट्टविरुद्ध भने सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम