ताजा खबर

वैदेशिक रोजगारी ठगी आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीलाई ४ दिन हिरासतमा

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई काठमाडौँ जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको हो ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको सीआईबीको आरोप छ ।

सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको तथा पद र जिम्मेवारीको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्‍याइएको आरोपमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम