ताजा खबर

थुनिएको बडिगाड खोला बग्न थाल्यो, ठुलो जोखिम टर्यो

बाग्लुङ जिल्लाको बडिगाड र ढोरपाटन नगरपालिकाको सीमाना तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा ७ घण्टादेखि थुनिएको बडिगाड खोला ओभर फ्लो भएर बग्न थालेको छ । शुक्रबार मध्यराति ११ बजे मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले बडिगाड खोलो थुनिएको हो ।

पहिराले खोला थुनिएपछि जमेको पानीले खोलाको माथिसम्म ठूलो ताल बनेको छ। तालको पानी बिस्तारै ओभर फ्लो भएर बग्न थालेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाले बताए।

खोला थुनिएपछि ढोरपाटन नगरपालिका-२ सिमलचौरका चार घर डुबानमा परेका छन्। खोला थुनिदा दुर्इ किलोमिटर माथिसम्म पानीको ताल फैलिएको छ । जमेको पानी बग्न थालेसँगै फैलिदो क्रममा रहेको तालको पानी दुई फिट घटेको थापाले बताए ।

पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन एक साता करीब लाग्ने देखिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । थुनिएको खोलाले बिस्तारै आफ्नो बहाव ल्याउन थालेकाले ठूलो जोखिम टरेको उनले बताए ।

ठूला ढुगांसहित खोला थुनिएकाले फुट्ने सम्भावना नभए पनि तल्ला तटीय क्षेत्र भीमगिठे, खाल, खार लगायतका बासिन्दालाई बिशेष सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पहिरो खसेर ताल बनेको क्षेत्रमा बाग्लुङ सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसहितको टोली विहानै पुगिसकेको छ ।

About the author
nepalbritain news

nepalbritain news