लण्डन । बहुसांस्कृतिक र भाषिक विविधताको धनि शहर सटन दक्षिण र पूर्वीय एशियाका हिन्दु तथा बौध्द धर्मावलम्बीहरूको नयाँ बर्षलाई औपचारिकरुपमा साँस्कृतिक पर्वको मान्यता दिने लण्डन महानगरपालिकाको पहिलो बरो (वडा) भएको छ।
काउन्सिलर परम नन्दाको बिशेष प्रस्तावलाई सटन बरोको पूर्ण बैठकले बिभिन्न साँस्कृतिक तथा धर्मावलम्बीहरूको मूख्य चाड पर्वहरूलाई प्रबर्द्धन गर्ने निर्णय गत जानवरीमा पारित गरेको थियो।
सटनमा बसोबास गर्ने नेपाली, तमिल तथा भारतीय मुलका समुदायले सो निर्णय स़्वागत गर्दै १४ अप्रिल को दिन स्थानीय स्टान्ली पार्क हाईस्कूलको अडिटोरियमहलमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि नयाँ बर्ष मनाए। काउन्सिलको यो निर्णयसंगै हरेक बर्ष सटनको विद्यालयहरुले हिन्दु र बौध्द धर्मावलम्बीहरूको नयाँ बर्षबारे पाठ्यक्रमा समाबेश गर्नुपर्नेछ।
उक्त कार्यक्रममा नेपाली, भारतिय तथा श्रिलङ्काली समुदायहरुले आ-आफ्नो भाषा र सँस्कृती झल्किने नृत्यहरु, गीत तथा संगितहरू प्रस्तुत गरेका थिए ।
नेपाली समुदायको प्रतिनिधित्व गर्दै बिगत २ बर्ष देखि नेपाली भाषा र संस्कृतिको संरक्षण र बेलायतमा जन्मी हुर्किरहेका पहिलो पुस्ताका नेपाली बालबालिकाहरुको लागि Early Years Education Society ( EYES-UK) द्वारा संचालित प्रारम्भ पाठशालामा अध्ययनरत विद्यार्थीहरुले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए। लण्डनमा बसोबास र कार्यथलो बनाएका नेपाली समुदाय तथा आफ्ना नातिनातिनीहरु भेट्न आउनु भएका हजुर बा र हजुर आमाहरुको उल्लेख्य उपस्थित रहेको सो कार्यक्रममा जब “डाँफे झै नाँच्ने , हिमाल झै हाँस्ने नेपालकी छोरी हुँ म” भन्ने बोलमा हातमा नेपालको झण्डा लिदै गुन्यु चोलो र पाउजु लगाएर प्रिसा, शयलि, निसिथा र इभा मन्चमा नाचेँ, दर्शकदिर्घामा रहेका नेपालीमात्र हैन, कार्यक्रमको अतिथिको रुपमा उपस्थित सटन का मेयर स्टिब कुक, बेलायति सांसदहरु टोम ब्रेईक र पौम स्कलिले बढो अभिरुचि साथ नृत्यबाट मनोरञ्जन लिईरहेका थिए। किङ्सटन अपने थेम्स पालिकाका मेयर थे थायलन, श्रिलंकन हाईकमिसन का अब्दुल हलिम र भारतीय हाइकमिसनका प्रतिनिधित्व गर्दै अमित सा लगायत बिशिष्ट अतिथिहरुले नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै यस्ता सास्कृतिक कार्यक्रमले समुदायमा सहिष्णुता र विश्व भाइचारा बढाउने र सामाजिक एकता मजबुत गर्ने कुरामा जोड दिनुभएको थियो।
अमिस, प्रत्युष, सिड र श्रिसले “यो गाँऊको टिठो म, कान्छा मेरो नाम, आउदै जादै गर्नु हैं सबलाई रामराम” बोलको गीतमा आफ्नो नृत्यकला पस्केका थिए। गुरुङ्गको पोशाकमा सजिएकि सिल्भिया र दौंरा सुरुवाल लगाएर उत्घोषकको भूमिका निर्वाह गरेका प्रतिकले प्रारम्भ पाठशालामा नेपाली भाषा सिक्दाको आफ्नो अनुभव र नेपाली सँस्कृतिको बारे सगौरव जानकारि दिएका थिए।
पानसमा बत्ति बालेर शुरु भएको कार्यक्रममा भारतिय समुदायका बालबालिकाहरुले संस्कृतिमा मन्त्रवाचन, तमिल बालबालिकाहरुको समूहले शास्त्रिय संगित र नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको केन्द्र बिन्दु भने बिनोद चिपालुको लाखे नाँच बन्न पुग्यो। जब लाखें नाँचको बाजा बज्यो र लाखे वल (लाखे आयो) भन्दै गर्दा राक्षसको मुकुण्डो लगाएर बिनोद स्टेजमा नाच्दै पुगें, दर्शकहरु आफ्नो मोबाईलमा लाखे नृत्यलाई कैद गर्न ब्यस्त देखिन्थे।
यो कार्यक्रममा पाएको सकरात्मक प्रतिक्रियाले हामीलाई नेपाल भ्रमण बर्ष २०२० सफल पार्न र नेपालीको साँस्कृितिक विविधताको पहिचान दिन आगामी दिनहरुमा नेपालका पर्यटकिय स्थानहरु, साहसिक खेलहरुबारे जानकारी मुलक तथा नेपालको साँस्कृितिक विविधता झल्काउने साँस्कृतिक कार्यक्रम गरेर स्थानिय समुदायलाई नेपालको भ्रमणको निम्तो दिन प्रारम्भ पाठशालाले विविध कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी प्रारम्भ पाठशालाका प्रमूख शिक्षक तथा आइज यूकेका अध्यक्ष्य श्री पूर्ण कुमार श्रेष्ठले दिनु भयो।





