ताजा खबर

कुवा छोएको निहुँमा कुटपिट

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीमा कुवाको पानी खाएको निहुँमा तुलसी सार्कीमाथि कुटपिट भएको छ। तुलसीमाथि स्थानीय सीता पार्कीले कुटपिट गरेकी हुन्। खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपिट गरेको तुलसीका देवर शंकर सार्कीले बताए।

‘हामीलाई दलितभित्र पनि तल्लो जाति भनेर हेप्ने गरेकै कारण कुटपिट भएको हो। अघिपछि हामीले पानी खाने कुवा अर्कै छ। खेतमा काम गरिरहेका बेला तिर्खा लागेपछि बच्चा कुवामा गएको रहेछ। त्यसैको निहुँमा भाउजूमाथि कुटपिट भएको हो।’

बिहीबार दिउँसो घटना भएको भएपनि शुक्रबार खोचलेक प्रहरीमा आएपछि घटना सार्वजनिक भएको हो। प्रहरीले भने कुटपिट भएको भन्ने निवेदन आएको तर जातीय विभेदको कुरा निवेदनमा उल्लेख नभएको जनाएको छ।

तुलसीको पाखुरा र आँखाको नजिक चोट रहेको तुलसीका देवर शंकरले बताए। ‘भाउजूलाई हसियाले प्रहार गरेको रहेछ। पाखुरा र आँखाको नजिक घाऊ भएको छ’, उनले भने, ‘अहिले उपचार गर्ने सहमति भएको छ। उपचारका लागि धनगढीतिर जाँदैछौँ।’

पहिला उपचार गरेर त्यसपछि मिलापत्र गर्ने सहमति भएको शंकर सार्कीले बताए। ‘हुन त जातीय विभेद भएको हो’, उनले भने, तर, एकै गाउँमा बस्नुपर्ने र कुटपिट गर्नेले पनि माफी मागिसकेकाले मिलापत्र गर्ने सहमति गरेका छौँ।’

अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news