ताजा खबर

सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्ने सबैजनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएपछि उनीहरु बस्दै आएको ब्लकका २ सय ४२ जनाको आज परीक्षण गरिएको हो ।

संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पनि नतिजा नेगेटिभ आएको छ । पाँच ब्लक रहेको अपार्टमेन्टमा पहिलो चरणमा ’ब्लक ए’ मा मात्रै परीक्षण गरिएको हो । अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागले निकालेको छ ।

करिब १ हजार ३ सयको परीक्षणका विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न बाँकी छ । पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५ सय फ्ल्याट रहेका छन् । सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरिने बताइएको छ ।

५ चैतमा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा १ वैशाखमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूको पुनः पीसीआर विधिबाट परीक्षण गरिएको थियो । सो क्रममा उनीहरुमध्ये दुईमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै संक्रमितअहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता