नेकपा स्थायी कमिटीमा आजबाट सदस्यले धारण राख्ने
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा आजवाट स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सुरु हुनेछ । दुई अध्यक्षले बुधबारको बैठकमा एक–अर्काप्रति आक्रामक अभिव्यक्ति दिएपछि आजको बैठकमा पनि नेताहरुले गुठ अनुसार धारणा राख्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सरकारको बचाउको तयारी गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्ष भने सरकारको चर्को आलोचनाको तयारीमा छन् ।
नेकपा नेताहरु प्रधानमन्त्रीमा विकल्प नखोज्ने, तर अध्यक्षमा ‘पावरसेयरिङ’देखि मन्त्रिमण्डल पुनर्गठनसम्मका मुद्दा बैठकमा उठाउने तयारीमा छन् । पहिलो बैठकमा दुई अध्यक्षले अविश्वास र असन्तुष्टि प्रकट गरेका थिए ।
अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले पार्टीभित्र बहुमतको नाममा गुटको राजनीति गरेको आरोप लगाएका थिए ।
अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताएका थिए । स्थायी कमिटि बैठक तीन दिनमा टुग्याउने नेकपाको तयारी छ ।

