बुटवल । विपक्षी दलको तोडफोड, नाराबाजी र रोष्टम घेराउका बीच सोमबार प्रदेश ५ को प्रदेशसभाको दोस्रो बैठक सञ्चालन भएको छ । सोमबार बसेको पहिलो बैठकमा बैठक सुरुभए लगत्तै बिपक्षिदलले रोष्टम घेरेपछि आधा घण्टालाई स्थगित भएको बैठक दोस्रो पटक तनावपूर्ण तरिकाबाट सञ्चालन गरिएको थियो । विपक्षी काँग्रेसको नाराबाजी, तोडफोड र माईक भाँच्ने क्रमकै बीचमा सभामुख पुर्ण घर्तीले संसद बैठक अघि बढाएका थिए ।
संसदमा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले नेपाली काँग्रेसका विरुद्ध सभामा खेद व्यक्त गरे । प्रदेश राजधानी र नामारणका बिषयमा साँसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका कानुन मन्त्री केसीले विपक्षी काँग्रेसले सभामुख घर्तीमाथि आक्रमण गरेको भन्दै खेद व्यक्त गरेका हुन् ।
उनले साँसदहरुले उठाएका प्रश्नको जवाफ भन्दा पनि विज्ञ समुहको प्रतिबेदन र प्रदेशसभाले गठन गरेको सुझाव समितिको प्रतिवेदन सार्वजानिक गर्न सभामुखसँग अनुमति मागे । मन्त्री केसी बोलिरहँदा काँग्रेस सभासदले कुर्चि तोडन र हो हल्ला गर्न नछाडेपछि उनले भाषणकै बीचमा सांसदलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएको सुनिएको थियो ।
कांग्रेस सांसदहरुको तोडफोड देखेर आक्रोशित भएका मन्त्री केसीले भने आक्रोशित पारामै भने , ‘नेपाली कांग्रेसलाई इतिहासले यक्ष प्रश्न सोध्नेछ । नेपाली कांग्रेसका साथीहरूलाई आफ्नो परम्परा कायम गर्न म अनुरोध गर्न चाहन्छु,’ ‘माननीय सदस्यहरूले आज जे प्रस्तुत गर्दै हनुहुन्छ, नेपाली कांग्रेसमा बीपीले पनि गिज्याउँदै हुनुहुन्छ ।’
मन्त्री केसी बोल्नु अघि प्रदेशका सभासदहरुले प्रदेशको राजधानीका बिषयमा आ आफ्ना धारणाहरु राखेका थिए । दाङ पश्चिमका सभासदहरुले सरकारी प्रस्तावको समर्थनमा अभिमत राखेका थिए भने कपिलवस्तु पुर्वका सांसदले बुटवलबाट राजधानी सार्नुपर्ने कारणको औचित्य खोजेका थिए । सोमबार बिहानमात्र बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको पक्षमा बोल्न र मतदान गर्न ह्वीप जारी गरेपनि नेकपा सांसद भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थीले पोखरेलको ह्वीप उल्लंघन गरेका छन् ।
मंगलबार मध्यान्न १२ बजे बस्नेगरी संसद बैठक स्थगित गरिएको छ ।