३० पुष २०८२, बुधबार
Follow Us

ताप्लेजुङ र तनहूँमा आगलागी, ताप्लेजुङमा ३५ घर जलेर नष्ट

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार ०७:३६

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौं ।”

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, तनहूँ जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उहाँले बताउनुभयो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।

धेरै पढिएको